सूचनामूलक पर्व तीज

१. केही दिनदेखि हाम्रो गाउँ, शहर बजारमा रंगीचंगी पोशाकमा महिलाहरूको आवतजावतले तीज आएको संकेत गरेको छ। त्यति मात्र होइन रेडियो, टेलिभिजनहरूले तीजका गीतहरू बजाएर तथा नाचहरू देखाएर घरका कोठाहरूको वातावरणसमेत तीजमय बनेको छ। तीज यति व्यापक भएको छ कि अब यसको प्रभावबाट कोही पनि टाढा रहन सक्दैन।

२. तीज हिजो व्यक्ति र परिवारले आआफनै किसिमले मान्ने गर्दथे भने अहिले त्यसको दायरा  फराकिलो भएको छ। संघ, संस्था र कार्यालयहरूले पनि आफना चेलीबेटीहरूलाई भेला गराएर दर खुवाउने र नाचगान गर्ने भएकोले यसको सामूहिकतामा वृद्धि भएको छ। यसले आपसी चिनाजान र सर्म्पर्क पनि बढाएको छ।

३. तीजका यस्ता कार्यक्रमहरूले हाम्रा महिलाहरूको सिर्जनशीलतालाई बढाएको छ। हिजोका महिलाहरूले आफूले भोगेको दुःखकष्ट र वेदनालाई तीजको गीत मार्फत व्यक्त गर्ने गर्दर्थे भने अहिले उनीहरूले सामाजिक विकृति र विसंगति, महिलामाथि हुने अन्याय अत्याचारदेखि सरकारको आलोचना पनि गर्ने गर्दछन्।

४. व्यक्तिमात्र हैन सरकार र संघ,संस्थाहरूले ल्याएको नयाँ कार्यक्रमहरू  तीज गीतमार्फत् प्रचार प्रसार गर्ने गर्दछन्। सन्देशमूलक सूचनाहरू प्रचार प्रसार गर्ने काममा तीजका गीतहरू प्रभावकारी भएका छन्। महिलामार्फत भएका कामकुराहरू सफल पनि भएका छन्।

५. महिलाहरूले त्यसरी विविध विषयमा गाउन थालेपछि र कतिपय ठाउँमा प्रतियोगितात्मक किसिमले नाच्न थालेपछि मौलिकता हराएको, विकृति विसंगति बढेको टिप्पणी गर्दै चिन्ता पनि व्यक्त गर्ने गरिएको छ। तीज महँगो भएको र तीज मान्न गाह्रो भएको भन्नेहरू पनि छन्।

६. तीजलाई धेरैले धेरै किसिमले हेरेका छन्। महिलाहरूले तीज जे जसरी मानिरहेका छन् त्यसले महिलाको स्थितिमा धेरै परिवर्तन आएको देखाउँछ। महिला अहिले अवला हैन सवला भएका छन्। शिक्षा दीक्षामा, सामाजिक तथा राजनीतिक काममा पनि धेरै अगाडि बढेका छन्। उनीहरूमा आत्म विश्वास बढेको छ र केही गरौँ भन्ने भावना पलाएको छ।

७. तीजका धेरै सवल पक्षहरू छन्। यो रमाइलो पर्व हो। त्यसैले यसको लोकप्रियता बढ्दै गएको छ। विदेशमा वस्ने नेपालीहरूले पनि यो पर्व मान्न थालेका छन्। यसलाई अझ जीवनोपयोगी कसरी बनाउने भन्नेतिर सोच्नु आवश्यक छ। देशका नीति निर्माताहरू एवं समाजका अग्रज पथप्रदर्शकहरूले यस दिशातिर ध्यान दिनु आवश्यक छ।