सीमा अतिक्रमणमा ध्यान देऊ

१. भारतले नेपाली सीमा अतिक्रमण गरेको समाचार बराबर आउने गरेको छ। भारतले कहिले सीमानामा सडक बनाएर, बाँध बनाएर तथा यस्तै के के संरचना बनाएर नेपालको सीमा अतिक्रमण गर्ने गरेको छ। त्यस्तै अहिले पनि धनुषा जिल्लाको सीमावर्ती क्षेत्रमा अतिक्रमण गरिएको समाचार आएको छ।

२. धनुषाको जटही नाकासँग जोडिएको दशगजा क्षेत्रमा भारतीय पक्षले आफ्नो चेक पोष्ट निर्माण गरिरहेको छ। नेपालको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (वीओपी) ले पटक-पटक सो चेकपोष्टको निर्माण कार्य रोक्न आग्रह गर्दा पनि भारतीय पक्षले मानेको छैन। बरु त्यसले निर्माण कार्यलाई तीव्र पारेको छ।

३. भारतीय पक्षले एकतर्फी रुपमा त्यसरी सीमा अतिक्रमण गरिराखेकोले सीमानामा रहेका दुवै पक्षका अधिकारीहरुबीच मनमुटाव चर्केको छ। त्यसरी मनमुटाव चर्केको कारण कतिपय ठाउँमा दुर्इ पक्षबीच अप्रिय घटना पनि भएका छन्। तर त्यसतो स्थिति नदोहोरियोस्, हामीले प्रयास गर्नुपर्दछ।

४. स्थानीयको चको दबाब पछि भारतीय पक्षले माथिबाट कागज आएमा रोक्ने वचन दिएको छ। हाम्रो स्थानीय प्रशासनले सरकारलाई नापीका मानिस समेत पठाउन पत्राचार गरेको भए पनि अझसम्म माथिबाट कुनै खबर त्यहाँ पुगेको छैन। निर्माण कार्य रोक्ने कागज नआएको भनी उनीहरुले आफ्नो काम तीव्र पारेकाछन्।

५. एकातिरको स्थिति त्यस्तो छ भने हामीलाई भने आपसमा लड्नमा फुर्सत छैन। डा. गोविन्द के.सी.ले स्वास्थ्य शिक्षाको वेथितिका सम्बन्धमा गरेको आमरण अनशन अहिले सरकारको प्रतिष्ठाको सवाल भएको छ। जति पछि भयो उति के.सी.को आमरण अनशन व्यापक चर्चा र चिन्ताको विषय भएको छ।

६. सरकार यस्तो कुरामा अल्झिरहेकाले त्यसले गर्नुपर्ने ठूल्ठूला कामहरु त्यस्तै सेलाइरहेका छन्। शायद् त्यसै भएर पनि होला सरकारले भारतले बनाएको त्यो चौकी रोक्नका लागि लेख्न नपाएको। अन्यथा सीमा अतिक्रमण जस्तो संवेदनशील कुरामा ढिलाई गर्नु कदापि हुँदैन। स्थानीयहरुले सरकारले लेखापढी गर्नमा ढिलाइ गरेको बताइरहेका छन्।

७. आपसमा लामो समय लड्दा त्यसको परिणाम के हुन्छ भन्ने कुरा पहिले पनि देखिएकै थियो भने अहिलेको घटनाले पनि प्रष्ट देखाएको छ। सीमा अतिक्रमण गम्भीर कुरा हो। भारतले एक पटक बनाइसकेपछि त्यसलाई भत्काउनु गाह्रो हुन्छ। त्यसकारण अहिले सम्बन्धित मन्त्रालयले चनाखो भएर त्यो रोक्न तुरुन्त लेखापढी गर्न हामी जोड दिन चाहन्छौँ।