सिंहावलोकन

१.सिंह जंगलमा विचरण गरिरहेको बेला केही समयको अन्तरालमा आफू हिँडेको बाटो फर्केर हेर्दै फेरि अगाडि बढ्दै आफ्नो गन्तव्यतिर लम्किरहेको हुन्छ। सिंहको यो विशेषतालाई सिंहावलोकन भनिन्छ। मानिस पनि व्यक्तिगत र समष्टिगतरुपमा त्यसरी नै सिंहावलोकन गर्दै अघि बढिरहनु पर्दछ।

२. यसरी चरणबद्ध ढंगले अघि बढ्दा मानवले पनि आफ्नो व्यक्तिगत नैतिक आचरण र समष्टिगत आदर्शको अद्यावधिक सिंहावलोकन, समीक्षा र समालोचना गर्दै अघि बढ्नु अनिवार्य हुन्छ। यसो गरिएन भने भूलत्रुटिहरु दोहोरिंदै जान्छन् र अग्रगामी पाइलाहरु पनि पथभ्रान्त हुन्छन्।

३. नेपालको सर्न्दर्भमा राजनीतिक सिंहावलोकन जसरी हुनुपर्ने हो त्यसरी हुनसकिरहेको छैन। दलीय व्यवस्थाको लामो अभ्यास पश्चात पनि नेपालका नेतृत्व वर्गमा राजनीतिक संस्कारको उदाहरणीय प्रस्तुतीकरण देख्न पाइएको छैन। विभिन्न दल भित्र पनि एकता र मित्रताको अभाव देखिन्छ। आम जनताको राजनीतिक चेतनामा पनि प्रज्ञा र परोपकारको व्यवहारमा ह्रास आइरहेको छ।

४. देशमा समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपनि तत्काल जनताका खाद्य, वस्त्र, आवास, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्नेतर्फ न त संसदको न त सरकारको ध्यान जान सक्यो। दल भित्रको द्वन्द्वमा समय व्यतीत भइरहेको यस्तो परिदृश्यले जनतामा निराशाको मात्रा बढिरहेको छ।

५. यस बेला प्रतिपक्षी राजनीतिक दल र सरकारमा रहेका दलहरुका बीच प्रज्ञा र बन्धुत्वको धरातलमा उभिएर आम जनतालाई साक्षी राखेर यस अघिका सबै राजनीतिक गतिविधिहरुको गहन अध्ययन र उत्तरदायित्वपूर्ण छलफल गर्दै संविधान प्रदत्त जनताका मौलिक अधिकारको सुनिश्चितता कायम गर्नु पर्दछ।

६. अहिले नेपालको सरकार र संसदका लागि सार्वभौम जनताले अभूतपूर्व शक्ति र अवसर प्रदान गरेका छन्, यस्तो सुविधाजनक अवस्थामा पनि आम जनता र देशका लागि अहोरात्र काम गर्न छाडेर अहंकारको प्रदर्शन एवं वाकयुद्धमा समय खेर फालेको देखेर जनता फेरि उद्विग्न र उत्तेजित हुने परिवेश तयार नहोस् भन्नेतर्फ ध्यान दिनु पर्दछ।

७. लोकतन्त्रमा संसद र सरकार मात्र हैन आमजनताको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। जनताको जनजीविका आचरण र विचारपद्धति जस्तो हुन्छ ती जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुमा पनि त्यही प्रतिबिम्बित हुने गर्दछ। समाजमा अहिले देखा परेको हिंसात्मक गतिविधि, बलात्कार, बोक्सी प्रथा, जातियविभेद, अपहरण तथा माफियालगायतका सबै विकृतिहरु समाजकै उपज हुन् भन्ने तथ्य पनि हामीले भुल्नु हु’दैन। अतएव हरेक क्षेत्रमा सिंहावलोकन हुनु अनिवार्य छ।