साहित्यका धरोहरको अवसान

१. नेपाली साहित्यका धरोहरकारुपमा स्थापित इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा मंगलवार भारतको दार्जिलिङस्थित आफ्नै घरमा निधन भएको छ । परदेशमा  जन्मेर तथा परदेशमै वसेर नेपाली भाषा र साहित्यको उन्नयनका लागि अथक प्रयाश गर्ने उनी समसामयिक साहित्यका अग्रज व्यक्तित्व थिए ।उनी नेपाली साहित्य आकाशमा सधैँ चम्किरहने छन् ।

२. उनले नेपाली साहित्यका किताबहरु रचना गरेरमात्र ख्याति कमाएका होइनन्, अपितु उनले नेपाली साहित्यमा आयाम नै थपेका छन् । उनी अयामेली साहित्यकारकारुपमा सुपरिचित छन् । उनले वैरागी काइँला र इश्वर वल्लभसँगै मिलेर तेस्रो आयाम आन्दोलनको थालनी गरेका थिए । त्यसबेला तेस्रो आयाम नामक पत्रिका पनि प्रकाशित भएको थियो ।

३. आयामेली लेखनपछि उनले लीलालेखनको पनि प्रयोग गरेका थिए । साहित्यमा नयाँ प्रयोगकर्ताकारुपमा उनी चर्चित थिए । त्यसोता उनको “आज रमिता छ”भन्ने उपन्यासले नेपाली साहित्यमा स्थान जमाइसकेको थियो । त्यसपछि प्रकाशित उनका प्रत्येक कृतिले उनलाई माथि माथि पुर्‍याउँदै थियो ।

४. उनले नेपाली उपन्यासका आधारहरु समालोचना कृतिका लागि भारत सरकारको “साहित्य अकादमी पुरस्कार” पाएका थिए । त्यस्तै नेपाली वाङमयको श्रीवृद्धिमा अथक प्रयाश गरेकोमा “जगदम्बाश्री”पुरस्कार प्रदान गरिएको थियो । उनका केही कृतिहरु त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा पढाइने पनि गरिएको छ । त्रिभुवन विश्वविद्यालयले उनलाई दुर्इवर्ष पहिले मानार्थ विद्यावारिधि पनि प्रदान गरेको थियो ।

५. उनकोे साहित्यिक स्तरीयताबाट प्रभावित भएर केही साहित्यकारहरुले ती कृतिहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउनु पर्ने महसुस गरेका छन् । उदाहरणतः मञ्जुश्री थापाले उका कृतिको अङ्ग्रेजीमा अनुवाद पनि गरेकी छन् । अन्य केही लेखकहरु पनि यस क्षेत्रमा लागिपरेका छन् । तर यसैबीच उनको निधन हुनगएकोका सबै स्तब्ध भएका छन् ।

६. उनी मूलतः साहित्यकार थिए । उनी अध्यापनमा पनि लागेका थिए । एकताका उनी गोर्खाल्याण्ड आन्दोलनमा पनि सरिक भएका थिए । उनले गोर्खाल्याण्ड बनेको हेर्ने ठूलो धोको भएको कुरा बारम्बार व्यक्त गर्ने गर्दथे । उनी नेपाली साहित्यमात्र होइन नेपाली जात्रि्रति नै गर्व गर्दथे । त्यस सम्बन्धमा पनि धेरै लेख रचनाहरु प्रकाशित गरेका थिए ।

७. विदेशी भूमिमा बसेर पनि नेपाल र नेपालीको शुभचिन्तक भएर रहने तथा नेपाली साहित्यको श्रीवृद्धिका लागि सधैँ प्रयासरत रहने ज्यादै थोरै व्यक्तिहरुमध्ये उनी अग्रगण्य मानिएका छन् । उनको निधनबाट नेपाली भाषा र साहित्यमा अपूरणीय क्षति भएको छ । यस अवसरमा हामी ती अग्रज साहित्यकारप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।