साहित्यकारहरुको चिन्ता

१. साहित्यकारहरु समाजका अगुवा मानिन्छन्। अगुवा मानिएका साहित्यकारहरुले राजनीतिमा लागेका नेताहरु समेतलाई पथप्रदर्शन गर्नुपर्नेमा अधिकांश साहित्यकारहरु नेताहरुको पिछलग्गु हुँदैगएको तथ्यप्रति पोखारमा आयोजित एक साहित्यिक कार्यक्रममा चिन्ता प्रकट गरिएको छ। कार्यक्रममा वक्ताहरुले नेताहरुमा बढ्दै गएको सामन्तवादी सोंच लगायतका प्रवृत्ति रोक्न साहित्यकारहरुले आलोचनात्मक टिप्पणी गर्नुपर्ने बताएका छन्।

२. प्रगतिशील लेखक घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले अस्ति आयोजना गरेको कार्यक्रममा नेताहरुले आलोचना नसहने र आत्मालोचना गर्दै नगर्ने परिपाटी बढेकोमा पनि असन्तोष व्यक्त गरिएको छ। वक्ताहरुले नेताहरु सांस्कृतिक रुपमा विचलित भएको र व्यक्तिवादी हुँदै गएको पनि उल्लेख गरे।

३. हुन पनि केही वर्षदेखि हाम्रा नेताहरुले त्याग, तपस्या र बलिदानको भावना बिर्सेर सुविधाभोगी भएका, राष्ट्र र समाजका लागि काम गर्नु भन्दा आफ्नै समूह र परिवारका लागि काम गर्ने गरेका छन्। हिजो वर्गीय उत्थानको कुरा गर्नेहरु अहिले आफ्नै उत्थानमा लागेर सामन्तको आसनमा विराजमान हुन पुगेका छन्।

४. राजतन्त्रको अन्त पछि राजा त हटेका छन् तर अरु धेरै राजा जन्मेका छन्। त्यसरी जन्मेका राजाहरुको जीवनयापनको शैली, उनीहरुको परिवारको शान, मान र मर्यादा हेर्दा उनीहरुलाई छोटे राजा भन्नुपर्ने अवस्था छ। कतिपय त्यस्ता परिवारको भाषामा पनि परिवर्तन आएको छ। ज्यू, हजुरिया शब्दको प्रचलन बढ्न थालेको छ।

५. नेताहरुको उठ, बस गरीब, किसान, मजदुरसँग होइन, ठूल्ठूला उद्योगपति, व्यापारी र धनाढ्यहरुसँग हुने गरेको छ। निर्धा, निमुखाले उनीहरुलाई भेट्न समेत नपाउने स्थिति सिर्जना भएको छ। त्यो वर्ग र नेताहरुको फासला बढ्दै गएको छ। नेताहरु माथि माथि हेर्दै अघि बढिरहेका छन् भने उत्पीडित वर्ग नेताहरुले केही देलान् भन्ने आशामा रहेका छन्।

६. समाजमा यस्तो विषम परिस्थिति सिर्जना भएकोले संवेदनशील साहित्यकारहरु आत्तिन थालेका छन्। नेताहरुले हिजो साहित्यकारहरुलाई आफ्ना पथप्रदर्शक मान्थले भने अहिले नेताहरुको निर्देशन नमान्ने साहित्यकारहरु नदीबाट जमीनमा फ्याकिएको माछाजस्तै भएका छन्।

७. नेताहरु बेलगामको घोडा जस्तै भएको बेला साहित्यकारहरुले चिन्ता प्रकट गर्नु स्वाभाविक कुरा हो। प्रगतिशील लेखकका अगुवा मानिएका निनु चापागाईले त त्यो समारोहमा गलत कामको भण्डाफोर गर्न नसक्ने तथा डराएर आलोचना नगर्ने प्रगतिशील साहित्यकार बन्नै सक्दैन भनी साहित्यकारहरुलाई पनि खबरदारी गरेका छन्। अग्रज साहित्यकारहरुका ती अभिव्यक्तिहरुलाई यहाँ महत्वका रुपमा लिइएको छ।