सालिकको विवाद

१. पोखरा लेखनाथ महानगरपालिकाले पोखरालाई स्मार्ट सिटी बनाउने क्रममा पोखारका विभिन्न चोकहरुमा भएका आइल्याण्ड भत्काएर सानो छरितो आइल्याण्ड बनाउन थालेको छ। ट्राफिक व्यवस्थापनका लागि पहिलेका आइल्याण्ड उपयुक्त नभएकोले भत्काउनु परेको बताइएको छ। त्यसरी भत्काउने र बनाउने क्रममा पृथ्वीचोकमा आइपुग्दा विवाद उत्पन्न भएको छ।

२. पृथ्वीचोकमा केही वर्ष पहिले नेपालका प्रथम शहीद लख थापाको सालिक निर्माण गरी स्थापना गरिएको थियो। आइल्याण्ड भत्काउने बेलामा त्यहाँ लखन थापाको सालिक थियो। नेपाल मगर संघले सालिक भत्काउनमा अवरोध गरेपछि त्यहाँ लखन थापाकै सालिक राख्ने सम्झौता गरेर त्यो भत्काइएको थियो।

३. पहिले पृथ्वीचोकको त्यस स्थानमा पृथ्वीनारायण शाहको सालिक थियो। पृथ्वीनारायण्ण शाहको सालिक राखिएपछि त्यस ठाउँको नाम पृथ्वीचोक रहन गएको हो। त्यो सालिक स्थापना गरेपछि पृथ्वी जयन्तीको कार्यक्रम पनि त्यहीँ हुने गर्दथ्यो। राजतन्त्रको अन्त भएपछि माओवादीले त्यो सालिक तोडफोड गरेर फालेको थियो।

४. त्यसरी खालि भएको त्यस ठाउँमा लखन थापाको सालिक स्थापना गरिएको थियो। अहिले त्यहाँ पृथ्वीनारायण शाहको सालिक राख्ने कि लखन थापाको राख्ने भन्ने विवाद बढेको छ। महानगरपालिका र प्रशासनले त्यहाँ पूर्ववत् रुपमा लखन थापाको सालिक राख्नेमा हस्ताक्षर गरिसकेको छ भने अर्को पक्षले त्यसको विरोधमा संर्घष्ा समिति समेत गठन गरेको छ। सालिक निर्माण कार्य रोक्न एक पक्षले अदालतमा रिट निवेदन गरेकोमा उच्चअदालत पोखराले सम्बन्धित निकायका नाममा कारण देखाउन आदेश समेत जारी गरेको छ।

५. हामीकहाँ विकास निर्माणका काममा दूरदृष्टि नराख्ने भएकोले यस्तो काम कहीँ विवादित हुने र कहीँ दोहोरिने गरेका छन्। पदाधिकारीहरुले आफूले जे सोच्यो त्यही ठीक भनेर काम गर्ने र गराउने परम्परा भएकोले पनि यस्तो अवस्था आउने गरेको छ। कुनै बेला पोखराका चोकहरुमा निर्मित आइल्याण्ड राम्रो मानिएको थियो। तर अहिले त्यसलाई भत्काउनु पर्‍यो। सडकमा रुख रोप्ने काममा पनि हाम्रो श्रम शक्ति खेर गएको छ। त्यस्तै अरु क्षेत्रमा पनि भएको छ।

६. पोखरालेखनाथ महानगरपालिकालाई अव स्मार्ट सिटीकारुपमा विकसित गर्ने कुरा आएको छ। पोखरालाई समृद्ध बनाउने नारा आएको छ। हामीले राम्रा-राम्रा कुरा सबै टिप्न खोजेका छौँ। तर त्यसलाई कसरी शुरु गर्ने, कसरी व्यवस्थापन गर्ने र त्यसलाई सुदूर भविष्यको लागि पनि उचित र सुहाउँदो हुने कसरी बनाउने त्यतातिर गम्भीर हुनु नितान्त आवश्यक छ।

७. पृथ्वीचोकको आइल्याण्ड भत्काइयो। त्यहाँ भएको लखन थापाको सालिक त्यहीँ राख्ने सम्झौता पनि गरियो। त्यसको लगत्तै सबै सालिकहरु एक पार्क बनाएर पार्कमा राख्ने विचार पनि सम्प्रेषण भएको छ। यसले आम नगरवासीमा भ्रम सिर्जना गरेको छ। त्यो विवादले सामाजिक सद्भाव खलबलिने सम्भावना बढेको छ। त्यसैले यस सम्बन्धमा ढिलाई नगरी छिटो गरी सालिकको विवाद टुङ्ग्याउनु आवश्यक छ।