सहनशीलताको प्रशंसा

१. काठमाडौं, कान्तिपथ स्थित श्रीकुञ्जका ९४ वर्षीय श्रीजँग शाह तथा उनकी धर्मपत्नी रुद्रकुमारी शाहले एक अर्बभन्दा बढी मूल्य पर्ने आफूहरु बसिरहेको घरसहित तीन रोपनी तीन आना भन्दा बढी जग्गा दान दिएका छन्। उनीहरुले त्यो घरजग्गा आफ्नो शेषपछि नेपालगञ्जको फत्तेवाल आँखा अस्पताललाई दान दिएका हुन्।

२. दान दिने नेपाली संस्कृति हो। दान दिए पुण्य प्राप्त हुन्छ भन्ने हाम्रो धर्मशास्त्रहरुमा लेखिएको छ। धर्ममा लाग्नेहरुले दान दिएको धेरै सुनिन्छ। आजभोलि यज्ञ, महायज्ञमा दाताहरुको ओइरो लाग्ने गरेको देखिन्छ । त्यसरी दान दिनेहरुले आयोजकहरुले अपेक्षा गरेभन्दा बढी दान दिने पनि गरेका छन्,।

३. यज्ञ, महायज्ञहरुमा आयोजकहरुले त्यसरी दान दिनेहरुलाई दान दिए अनुसार दानको परिमाण हेरेर विभिन्न किसिमले सम्म्ाान गर्ने गर्दछन्। त्यसरी सम्मान गर्ने गरिएकाले दान दिनेहरु प्रोत्साहित भएका पनि देखिन्छन् र उनीहरुमध्ये कतिपयले दानको रकम थप्ने पनि गर्दछन्।

४. दानशीलताको त्यो भावना प्रशंसनीय छ। फेरि कतिपय परिवारमा यस्तो दानशील भावना परम्पारगत रहेको हुन्छ। दाता श्रीजंग शाहको परिवारमा पनि यो भावना विरासतदेखि रहेको देखिन्छ। उनका बुबा आमा कप्तान फत्तेजंग शाह र काल दिव्येश्वरी शाहले २०४३ सालमा नेपालगञ्जमा आँखा अस्पताल खुलाउनका लागि आफ्नो घरसहित पाँच विघा जग्गा दान दिएका थिए।

५. उनीहरुले घरजग्गा सहित दान दिएर बनेको आँखा अस्पताल अहिले एक सय ५० बेडमा फैलिएको छ र त्यसको शाखा बाँके जिल्लाबाट सुर्खेत, बर्दिया र डोल्पासम्म पुगेको छ। वाषिर्क एक लाख २० हजार भन्दा बढी बिरामीको आँखाको परीक्षण हुने बताइएको छ। त्यस आँखा अस्पतालमा आँखा परीक्षण गर्न छिमेकी भारतबाट पनि दिनहूँ आउने गर्दछन्।

६. त्यसरी सेवा दिइरहेको आँखा अस्पतालले काठमाडौंमा घरसहित तीन रोपनी भन्दा बढी जग्गा पाएको छ। अस्पतालले अब आफ्नो सेवा काठमाडौंमा पनि विस्तार गर्ने भएको छ। शाह परिवारको यो दानबाट अस्पतालमा काम गर्ने चिकित्सक एवम् नर्सहरु सबै उत्साहित भएका छन्। उनीहरुमा सेवा गर्नुपर्दछ भन्ने भावना अरु गहिरो भएको छ।

७. दाता श्रीजंग शाहको पुख्यौर्ली घर जाजरकोट जिल्ला  हो। कुनै बेला उनीहरुको परिवार राजा रजौटामा गनिन्थे। उनीहरु उदार थिए र उदारतापूर्वक दान दातव्य गर्ने गर्दथे। बसाई गर्ने क्रममा उनको बुबा बाँकेमा पुगेका थिए र बाँकेबाट उनीहरुले काठमाडौं पुगे। श्रीजंग शाहको जन्म काठमाडौंमा भएको थियो तापनि उनले बाँके, बर्दिया र कैलालीमा जीवन व्यतीत गरेका थिए। उनले शेष जीवन काठमाडौंमा बिताउने भएका छन्। उनी जहाँ बसे पनि उनको दानशील भावनाको सर्वत्र प्रशंसा गरिएको छ।