सरकार र कर्मचारी विवाद

१. यो सरकार गठन भएको केही समयदेखि नै सरकारका मन्त्री र सरकारको अन्तर्गत काम गर्ने कर्मचारीहरुको विवाद सुनिदै आएको हो। विवाद बढ्दै गएको छ। सरकार खटाएको ठाउँमा कर्मचारीहरु गएनन् भन्दै कर्मचारीहरुमाथि कार्वाही गर्ने धम्की दिँदैछ भने कर्मचारीहरु आफनो व्यावहारिक कुरा या कठिनाई सरकारले नसुनेको गुनासो गर्दैछन्।

२. संघीय सरकारले आफू मातहतका कर्मचारीहरुलाई प्रदेश सरकार र स्थानीय तहमा खटाउने गरेको छ। सरकारले त्यसरी खटाएर पनि कर्मचारीहरु सम्बन्धित कार्यालयमा पुगेका छैनन्। कर्मचारीहरु खटाएको ठाउँमा नपुगेबाट प्रदेश र स्थानीय तहमा राम्ररी काम हुन सकेको छैन। यो सबैले भन्दै आएको कुरा हो।

३. यस बीच स्वैच्छिक अवकाशमा जान चाहने कर्मचारीहरुको ठूलो संख्याले पनि सरकारलाई अप्ठेरोमा पारेको छ। त्यसरी स्वैच्छिक अवकाशमा जान चाहनेहरुको संख्या ९ हजार ६०० भन्दा बढी रहेको छ। ती कर्मचारीहरुले सरकारलाई सुनियोजित किसिमले अप्ठेरोमा पार्न खोजेको ठानिएको छ । यसमा सरकार र कर्मचारीहरुका बीच असमझदारिता बढेको छ।

४. त्यो स्वेच्छित अवकाशको नीति शेरबहादुर देउवा सरकारले बनाएकोले पनि सोचाइमा केही पूर्वाग्रह आएको हुन सक्छ। त्यसरी स्वेच्छित अवकाशमा जाँदा एकातिर सरकारलाई कर्मचारीको अभाव खटि्कएको छ भने अकोर्तिर त्यत्ति धेरै कर्मचारीहरुलाई एकैचोटी अवकाश दिँदा आर्थिक जोहो मिलाउनु पनि एक समस्याको कुरा भएको छ।

५. कर्मचारीहरु पनि अन्यौलमा छन्। एकातिर सरकारको घोषित नीति छ भने अकोर्तिर त्यो नीति मानिँदैन भन्ने मन्त्रीको प्रतिक्रिया छ। प्रदेश र स्थानीय तहमा जान खोज्ने कर्मचारीहरुका थुप्रै गुनासाहरु छन्। खटाएको ठाउँमा जाँदा कसैले एक तह बढुवा पाउने कसैले नपाउने गरिएको कुरा छ भने कतै जेष्ठता र वरिष्ठताको कुरा पनि छ।

६. सरकारका मन्त्रीले पनि एकैचोटी धम्कीको भाषा प्रयोग नगर्नु पर्ने भन्ने कुरा पनि आएको छ। कर्मचारीहरुलाई स्थायी सरकार मानिन्छ। उनीहरुको गुनासो सुनिएको भए आज यस्तो स्थिति आउने थिएन। मन्त्रीज्यूले कार्वाही गर्ने अनेक धम्कीको भाषा प्रयोग गरे पनि अझै केही कर्मचारीहरु सम्बन्धित ठाउँमा पुगेका छैनन्।

७. संघीय सरकार र स्थायी सरकारका कर्मचारीहरु बीचको यो विवाद अब लम्ब्याउनु हुँदैन। कर्मचारीहरुले पनि आचारसंहिता र अनुशासनको पालना गर्नुपर्दछ। सरकारले पनि ती कर्मचारीहरुको व्यवहारिक कठिनाइ बुझिदिनु पर्दछ। यहाँ ट्रेड युनियन पनि छ। यस्तोमा ट्रेड युनियनले सकारात्मक कदम चालेर दुर्इ पक्षबीचको असमझदारी हटाउनु पर्दछ र यो स्थितिको तुरुन्त अन्त गरिनु पर्दछ।