सरकार चौतर्फी दबाबमा

१. स्वास्थ्य शिक्षामा सुधारको माग राख्दै वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी. जुम्लामा गएर आमरण अनशन बसेको १८ दिन पुगेको छ । यो १८ दिनमा उनको स्वास्थ्य झन्-झन् बिग्रदै गएको छ। जति उनको स्वास्थ्य बिग्रदै गएको छ, उति उनको स्वास्थ्यको बारे धेरैले चिन्ता व्यक्त गर्न थालेका छन्।

२. सरकार प्रधानमन्त्री के.पी. ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका मन्त्रीहरु डा. के.सी. को आलोचनामा उत्रेका छन्। प्रधानमन्त्री ओलीले जागिर त्यागेर राजनीतिमा आउन आमन्त्रण गरेका छन् भने शिक्षामन्त्री पोखरेलले उनलाई जसरी भए पनि जुम्लाबाट काठमाडौं ल्याउने उद्घोष गरेका छन्। काठमाडौं आए मात्र वार्ता गर्ने अडान उनले गरेका थिए।

३. त्यसरी दम्भ र घमण्ड देखाउने सरकार अहिले चौतर्फी दबाबमा छ। के.सी.को स्वास्थ्य स्थितिले पनि सरकारलाई दबाब दिएको छ भने नेपाल चिकित्सक संघले वार्ताका लागि सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएको छ। नेपाल चिकित्सक संघको आह्वानमा उच्च चिकित्सकहरु र सम्बन्धित विद्यार्थीहरु पनि सडकमा आएका छन्।

४. देशका प्रबुद्ध व्यक्तिहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु पनि सडकमा उत्रेर डा. के.सी.को ज्यान बचाउँन तथा उनको माग पूरा गराउन दिनहूँजसो गरी प्रदर्शन गरिरहेका छन्। एकातिर यस्तो छ भने अकोर्तिर जुम्लामा सर्वसाधारण गाउँलेहरु पनि ठूलो संख्यामा उनलाई भेट्ने गरेका छन्।

५. संसदमा प्रतिपक्ष नेपाली काँग्रे्रेसले डा. के.सी. को समर्थनमा बैठक अवरुद्ध गरे। काँग्रेसले संसदमा सरकारले पेश गरेको शिक्षा स्वास्थ्य विधेयक फिर्ता गरी माथेमाको प्रतिवेदन अनुसार तैयार गरिएको अध्यादेश ल्याउन माग गरेको छ। सरकारले भने त्यो विधेयक जवर्जस्ती पास गराउने वातावरण तैयार गर्दैछ।

६. के.सी.का माग सम्बन्धमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि मत विभाजन भएको देखिएको छ। त्यो पार्टीको स्वार्थ भनेको मनमोहन अधिकारीको नामको अस्पताल हो। त्यो पार्टीका स्थानीय समितिका सदस्य सांसद घनश्याम भुषालले एक अन्तर्वार्तामा शिक्षा-स्वास्थ्यमा लगानी गर्ने कम्युनिष्ट हुनै सक्दैनन् भनी आफ्नो विचार व्यक्त गरेका छन्।

७. यस सम्बन्धमा पार्टीमात्र होइन, सरकार भित्र पनि मत भिन्नता भएको कुरा बाहिर आएको छ। उपप्रधान तथा स्वास्थ्य र जनसंख्या मन्त्री उपेन्द्र यादव आफैले काठमाडैंको एक कार्यक्रममा राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको रहस्य उद्घाटन गरेका छन्। यी यथार्थ र वास्तविक कुरालाई मनन गरेर प्रधानमन्त्री, शिक्षामन्त्री तथा नेकपाका नेताहरुले आफ्नो अडानमा पुनर्विचार गर्नु आवश्यक छ।