सरकारको समझदारी

१. सरकारले समझदारी देखाएर काठमाडौंको वीर अस्पतालमा अनशन बसिरहेकी गंगामाया अधिकारीसँग शुक्रवार सम्झौता गरी उनको अनशन तोड्न सफल भएको छ। संझौता पत्रमा सरकारले गंगामायाको छोराको हत्याराहरुलाई पक्रेर कारवाही गर्ने वचन दिएको छ। हत्यारा भनिएका मध्ये रुद्र आचार्य आयरल्याण्डमा बसिरहेको छ भने फरार भनिएका जानुका पौडेल, भीमसेन पौडेल र परशुराम पौडेल नेपालभित्रै रहेको बताइएको छ।

२. चार वर्षदेखि पटक-पटक अनशन बसिरहेका उनले यस पटक ४६ दिन अनशन बसे। सरकारका तर्फबाट शेरबहादुर तामाङले सम्झौताको कार्यान्वयन गर्ने वचन दिएका छन् भने अनशनरत गंगामायाले आफूले अनशन तोडेको होइन, स्थगित गरेको भनेकी छन्। उनले १० दिनभित्र कार्यान्वयन नभए फेरि अनशन बस्ने बताएकी छन्।

३. सम्झौता पश्चात् अनशनरत गंगामायाले मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको हातबाट जुस पिएकी थिइन्। त्यसबेला अध्यक्ष शर्माले न्यायका लागि आफूहरुले सम्झौताको निरन्तर अनुगमन गर्ने बताउँदै अहिलेलाई तपाईको जीवन बचाउनु पर्ने भएकोले जुस खान अनुरोध गरेको हुँ भनेका थिए।

४. अनशन बस्दा बस्दै उनको अवस्था जीर्ण बनेको छ। उनको हातहरुका नसाहरु सबै सुक्दै गएकोले उनलाई घाँटीबाट सलाइन दिने गरिएको थियो। उनको वीर अस्पतालको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ। सरकारले ढीलै भए पनि जुन समझदारी देखाएर अनशन तोडाउन सफल भएको छ त्यो सराहनीय छ।

५. देशको दुर्इ ठाउँमा आमरण अनशन बसिरहेको दृश्यले सबैलाई अप्ठ्यारो पारेको थियो। गंगामायाको हकमा त्यो समस्या सुल्झेको छ भने अब सरकारको ध्यान जुम्लामा अनशन बसिरहेका डा. गोविन्द के.सी.तिर जानु पर्दछ र उनीसँग यथाशीघ्र वार्ता गर्ने प्रयास गर्नु पर्दछ।

६. वार्ता गर्न सरकार र डा. के.सी. दुवै सहमत भएको अवस्था छ। तर स्थान विशेषमा भिन्न्ता रहेको छ। सरकार के.सी.लाई काठमाडौं ल्याएर वार्ता प्रारम्भ गर्ने पक्षमा रहेको छ। के.सी. आफू जुम्लामा नै रहिरहने अडानमा छन्। के.सी. अशन बसिरहेको ठाउँ जुम्ला मुग्लान होइन। त्यसैले स्थान विशेषलाई प्रतिष्ठाको सवाल बनाउनु आवश्यक छैन।

७. मुख्य कुरा वार्ता हो, वार्ता टोली गठन गर्नु हो। केसी. जुम्ला भएता पनि वार्ता टोलीले काठमाडौंमा वार्ता गर्न सक्छ। यसलाई अन्यथा सम्झनु हुँदैन। मुख्य कुरा विवादको छिनोफानो गर्नु हो। विकास निर्माण गरी समृद्धिको बाटो जानुपर्ने बेलामा यस्तो काममा अल्झिरहनु उचित होइन। सरकारले गंगामायाको सवालमा समझदारी राखेझैं यसमा पनि समझदारी राखी छिटो वार्ता गर्नु पर्दछ र विवादलाई टु·याउन सक्नु पर्दछ।