सरकारको लागि अनुकूल वातावरण

१. ऋतु परिवर्तन भएको बेला छ। ठण्डा मौसम गएको छ। गर्मी मौसम आएको छैन। आजभोलिको मौसम सबैका लागि अनुकूल छ। प्रकृति खुल्ला छ। हिमाल राम्ररी देखिन्छ। फूलबारीमा फूलहरु फुलेका छन्। रुख विरुवामा पालुवा पलाउन लागेको छ। प्रकृति जति स्वच्छ र सुन्दर देखिन्छ, त्यस्तै गरी देशको राजनीति वातावरण पनि राम्रो देखिएको छ।

२. एमाले र माओवादी सत्तारुढ भएका छन्। ती दुवै पार्टीएकीकृत हुन पूर्वाधारहरु तैयार गर्दैछन्। उनीहरुमा उत्साहको बाढी नै आएको छ। उनीहरुले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलार्इ पनि सत्तामा साझेदार बन्न आग्रह गरिरहेका छन्। प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले गुण र दोषको आधारमा सरकारलाई साथ दिने बताइरहेको छ।

३. तीन तहको सरकार गठन भएपछि भाषणहरु धेरै सुनिन थालिएको छ। केन्द्रीय स्तरका नेताहरुको भाषण, प्रादेशिक नेताहरुको भाषण र स्थानीय नेताहरुको भाषणले सञ्चार क्षेत्र भरिएका छन्। अहिले उनीहरुको भाषणमा यो विशेषता रहेको छ कि यसमा गाली गलौज र आलोचनाका शब्दहरु प्रयोग भएका छैनन्।

४. प्रधानमन्त्री के.पी. ओलीले आफ्नो सम्पूर्ण प्रयास नै देशलाई समृद्ध पार्ने हो भनी दोहोर्‍याउँदैछन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि आफूलाई विकास बाहेक केही नचाहेको उदात्त भावना अभिव्यक्त गर्दैछन्। विकासै विकास, निर्माणै निर्माण र समृद्धि नै समृद्धिको कर्णप्रय मीठास शब्दहरु नेपाली आकाशमा गुञ्जिएका छन्। नेताहरुको बोलीमा विश्वास गर्ने हो भने यसलाई नेपालको स्वर्णयुग भन्न सकिन्छ।

५. फेरि विकास गर्नलाई त्यत्ति गाह्रो हुने पनि देखिँदैन। सत्तारुढ दलको संसदमा प्रष्ट बहुमत छ। बहुमतलाई बढाउने प्रयास जारी छ। प्रदेशहरु मध्ये ६ ओटा प्रदेशमा वाम गठबन्धनको सरकार छ। त्यस्तै स्थानीय तहमा पनि उनीहरुको वर्चस्व छ। वाम गठबन्धनको लागि स्थानीय तहदेखि केन्द्रसम्म अनुकूल वातावरण बन्नु ठूलो मौका हो।

६. भित्रको वातावरण मात्र होइन, बाहिरको सद्भाव र सहयोग पनि यो सरकारमाथि वर्षने भएको छ। छिमेकी चीन वामगठबन्धन भएदेखि नै खुशी छ। अको छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना विदेशमन्त्री पठाएर सद्भावको ढोका खोलेका छन् भने पाकिस्तानका प्रधानमन्त्री अब्बासी पनि आफै नेपाल आएर प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका छन्।

७. सरकारको लागि परिस्थिति अत्यन्त अनुकूल छ। यस्तो परिस्थितिको सदुपयोग हुनुपर्दछ। केन्द्र र प्रदेशको सरकारले पूर्णता पाएको छैन। त्यसकारण तिनीहरुका बारे केही भन्ने अवस्था छैन। तर स्थानीय तहका स्थानीय सरकार अझै अलमलिएका छन्। कहाँबाट काम शुरु गर्ने मेसो नै पाएका छैनन्। अझ उनीहरु काममा भन्दा भाषणमा नै व्यस्त छन्। यो राम्रो लक्षण होइन। अरुको हकमा केही समय प्रतीक्षा गर्नै पर्ने भएको छ।