सरकारको ध्यान कहाँ ?

१. प्रधानमन्त्री केपी शर्मा ओली समृद्धिको सपना देखाएर धेरै पर पुगिसकेका छन्। तर समृद्धिको आशामा बसेका जनता धेरै पछि परेका छन्। सरकारको महत्वपूर्ण ६ महिना बितेको छ। तर समृद्धिको शिलान्न्यास कतै भएको देखिएको छैन। जनता दुर्इतिहाई बहुमत प्राप्त सरकारले पनि केही गर्न नसक्ने हो कि भनी निराश हुन थालेका छन्।

२. सरकारले केही गर्न खोजेको थियो। ३३ किलो सुनमा ठूलो माछा पनि समात्ने उद्घोष गरेको थियो। तर न सुन समातियो, न कि ठूलो माछा नै जालमा पर्‍यो। यातायात सिण्डिकेट हटाउने प्रयास नभएको होइन तर व्यवहारमा सिण्डिकेट प्रथा चलिरहेको छ। काम नगर्ने ठेकेदारलाई पक्रनेसम्मको काम भयो तर सफलता हात परेन। त्यो पनि बीचैमा सेलायो।

३. एनजिओ/आइएनजिओलाई नियन्त्रण गर्ने ठूलो उद्घोष भयो। त्यो पनि बीचैमा सेलायो। डा गोविन्द केसीको आमरण अनशनले पनि सरकारलाई धेरै अलमल्यायो। कामु प्रधानन्यायाधीश दीपकराज जोशी प्रकरणले पनि सरकारले अपजस लिनु पर्‍यो। उनलाई किन प्रधानन्यायाधीश बनाइएन भन्ने प्रश्न अझै उठिरहेको छ।

४. स्थानीय निकायले लागू गरेको कर वृद्धिले सर्वसाधारण जनता यत्ति उद्वेलित भए कि केन्द्रीय सरकारलाई समेत त्यसले अप्ठ्यारोमा पारेको छ। सरकारले न त्यसको विरोध गर्न सके, न कि समर्थन नै । महिला हत्या, हिंसा र बलातकारको बढ्दो घटनाले पनि सरकारसमक्ष औंला ठड्याएको छ।

५. प्रधानमनत्री ओलीले मन्त्री र सचिवहरुलाई धेरै पटक निर्देशन दिए। उनीहरुको कामको मूल्यांकन गर्ने पनि भनियो। अक्षमहरुलाई हटाउने कुरा पनि गरिए। यसैबीच सञ्चारकर्मीहरुको स्वतन्त्रता र चिकित्सकहरुको माग पनि सरकारको टाउको दुखाई भएको छ।

६. सरकारको कुनै कामले पनि ठोस आकार लिएको छैन। अब त यस्तो अवस्था आयो कि उनकै पार्टीका शीर्ष नेताहरुले समेत असन्तोष व्यक्त गर्न लागे । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले यदाकता आफ्नो भाषणमा त्यो असन्तोष व्यक्त गरेका छन् भने पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि सरकारले राम्रो काम गर्न नसकेको भन्न थालेका छन्।

७. त्यतिमात्र होइन, प्रधानमन्त्री ओलीलाई देवत्वकरण गर्न अघि सरेकाहरुले पनि कतै मन्त्रीहरु ठीक भएनन् भन्दैछन् भने कतै सरकारका कर्मचारीहरुलाई दोष दिन थालेका छन्। त्यो जे भए पनि ६ महिना खेर गएकोमा सबैको एकमत छ। यत्तिसम्म कि बन्द रहेका सरकारी उद्योग, कलकारखाना जुन तुरुन्त सञ्चालन गर्ने प्रतिबद्धता थियो, त्यतातिर पनि कसैको ध्यान गएन । सरकारको ध्यान कहाँ गयो भन्ने प्रश्न उत्पन्न भएको छ।