सन्तुलित परराष्ट्र नीति

१. हाम्रो परराष्ट्र नीतिका निर्माता पृथ्वीनारायण शाह मानिन्छन्। पृथ्वीनारायण शाहले नै नेपाल एकीकरण गरेका हुन्। उनी नयाँ नेपालका निर्माता हुन्। उनले दुर्इ विशाल छिमेकी भारत र चीनका बीच अवस्थित नेपाललाई दुर्इ ढुङगा बीचको तरुलको संज्ञा दिएका थिए। दुर्इ विशाल ढुङ्गा बीचको तरुल फष्टाउन निकै कठिन हुन्छ। जसको रहस्योद्घाटन उनले त्यसै बेला गरेकाथिए।

२. २०१५ साल पछि हाम्रो परराष्ट्र नीतिलाई स्वतन्त्र परराष्ट्र नीति भन्न थालियो। खास गरेर प्रधानमन्त्री वी.पी. कोइरालाले भारतलाई थाहै नदिइकन  अर्थात् उसलाई नसोधीकन इजरायलसँग दौत्य सम्बन्ध स्थापित गरेपछि परराष्ट्र नीतिमा स्वतन्त्र भन्ने शब्द जोडिन पुगेको हो। पछि यो लोकप्रिय भयो।

३. अमेरिका र सोभियत संघको पक्ष नलाग्ने स्वतन्त्र राष्ट्रहरुको उदय भएपछि स्वतन्त्र परराष्ट्र नीतिले व्यापकता पायो। असंलग्न आन्दोलन जति चर्किदै गयो, उति स्वतन्त्र परराष्ट्र नीतिका पक्षधरहरुको संख्या पनि बढ्दै गयो। त्यो आन्दोलनले त्यसबेला निश्चय नै शक्ति सञ्चय पनि गरेको थियो। त्यसमा नेपालको भूमिका महत्वपूर्ण रहेको कुरा स्मरणीय छ।

४. त्यति हुँदा हुँदै पनि भारतले कहिले खुल्ला सीमाना भएको कारणले नेपाल-भारत सम्बन्धलाई विशेष सम्बन्ध भन्ने गरेको थियो भने कहिले चेलीबेटीको सम्बन्ध, धार्मिक-सांस्कृतिक सम्बन्ध आदि कुरा ल्याएर अरु देशहरुसँगको सम्बन्धभन्दा नेपाल-भारतको सम्बन्धलाई अरुहरुको भन्दा बेग्लै र विशिष्ट किसिमको भन्न रुचाउने गरेको सर्वविदित छ।

५. केही समयदेखि नेपालको परराष्ट्र नीतिमा सन्तुलित शब्दथ पिएको छ। विशेषतःभारत र चीनसँगको सम्बन्धको कुरा गर्दा सन्तुलित शब्द प्रयोग हुने गरेको हो। नेपाल अब न भारततिर न चीनतिर अथवा बीचमा रहने, दुवैसँग बराबरीको व्यवहार गर्ने भएकोले सन्तुलित परराष्ट्र नीतिको अवधारणा आएको छ।

६. ती दुवै देशसँग सन्तुलन कायम राख्न हाम्रा नीति निर्माताहरु अत्यन्त सजग र सतर्क छन्। नीति निर्माताहरु भारत भन्नासाथ चीनको उच्चारण गरिहाल्छन्। सरकारका प्रमुखहरु पनि भारत जानासाथ तुरुन्तै चीनको भ्रमण गरिहाल्छन्। कतै सन्तुलन खज्मजिएला कि भन्ने सोचेर होशियारी अपनाउछन्।

७. यतिसम्म कि नेपाल कम्युनिष्ट पार्टीा अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणको कार्यक्रम प्रकाशित गरेकै दिन त्यसैबेला चीन भ्रमणको उल्लेख गरिएको छ। अर्थात् उनी भारत भ्रमण पछि चीन जानु एउटा सन्तुलन हो भने कार्यक्रम प्रकाशित गर्दा पनि त्यो सन्तुलन कायम गरिएको छ। परराष्ट्र नीति सन्तुलनमा राख्न नीति निर्माताहरुले धेरै प्रयास गरेका छन्।