सकारात्मक प्रयास

१. वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी.ले आमरण अनशन बसेदेखि जुन अन्यौल र विवादको वातावरण बनेको थियो, त्यसलाई हटाउने प्रयास भएको छ। डा. के.सी.ले उठाएका चिकित्सा शिक्षाको समस्या समाधान गर्न सरकार र के.सी. पक्षधर वार्ता टोलीका बीच मंगलबारदेखि वार्ता प्रारम्भ भएको छ।

२. तिनीहरु बीच वार्ता नै नभएको र डा. के.सी.को स्वास्थ्य स्थिति पनि बिगँ्रदै गएकोले सर्वत्र चिन्ता छाएको थियो। त्यसमा पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री के.पी. ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवै के.सी.को विरुद्धमा चर्को स्वरमा कराएको हुँदा पनि स्थिति अरु ब्रि्रन्छ कि भन्ने अनुमान गरिएको थियो।

३. तर उनीहरुले दिउँसो चर्को आलोचना गरे पनि बेलुकी वार्ता भएको खबर संप्रेषण भएको थियो। त्यसै दिन अर्को सकारात्मक कुरा के भयो भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङको प्रयासमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालसँग डा. केदारभक्त माथेमा लगायतका के.सी.का सर्मर्थकहरुको भेटघाट भएको थियो।

४. डा. माथेमाले कम्युनिष्ट नेताहरुलाई आफ्नो प्रतिवेदनका सम्बन्धमा विस्तृत रुपमा अवगत गराएका थिए। उनले त्यसरी अवगत गराएपछि ती नेताहरु केही लचिलो भएको बताइएको छ। त्यस्तै के.सी. पक्षधरहरु पनि लचिलो भएका छन्। स्थिति अनुकूल भएको र वार्ताका निकटवर्तीहरुले बताउने गरेका छन्।

५. यो लेखिँदासम्म पनि वार्ता जारी छ। वार्ता सकारात्मक दिशातिर गएको बुझिएको छ। यो स्थितिले देशमा एउटा सन्तोषको वातावरण छाएको छ। तैपनि पूरै सहमति नभएसम्म यसै भन्न सकिने स्थिति छैन। किनभने स्थितिले जटिलतातिर मोड लिन लागेको अवस्था छ।

६. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि यसले विवाद निम्त्याएको छ। मनमोहन अधिकारीका नाममा स्थापना गरिएको अस्पतालको सम्बन्धमा पार्टीभित्र सबै एक छैनन्। त्यो अस्पताल खुलाउन दिनेमा अहिले सहमति भए पनि त्यसले पछि पार्टीभत्र वैमनस्यता जन्माउने सम्भावना छ।

७. अहिले त्यो अस्पताल र पूर्वको एक अस्पताल खुलाउने सहमति हुने सम्भावना छ। ती दुर्इका सम्बन्धमा सत्तारुढ पार्टीर सरकार दुवैले प्रतिष्ठाको विषय मानेका छन्। सरकारको प्रतिष्ठामा पनि आँच नआउने र डा. के.सी.का मागहरु पनि पूरा गर्नेतर्फ वार्ता अघि बढेको छ। जसलाई सकारात्मक किसिमले हेरिएको छ।