संविधान कार्यान्वयनमा ध्यान केन्द्रित गर

१. संविधान घोषणा भएको दुर्इ वर्ष भएको छ। यो दुर्इ वर्षको अन्तिम समयतिर संविधान कार्यान्वयन गर्ने क्रममा विभिन्न तहको निर्वाचन गहुन गइरहेको छ। त्यस क्रममा स्थानीय तहको निर्वाचन तीन चरणमा गरी भरखरै सम्पन्न भएको छ भने प्रदेश र संघीय संसदको निर्वाचन मंसिर महिनामा हुने भएको छ।

२. संविधान अनुसार सबै निर्वाचन भएको छैन। निर्वाचित सरकार गठन भएको छैन। निर्वाचित सरकार कस्तो हुने हो, त्यसले कसरी काम गर्ने हो र कति टिक्ने हो, यी र यस्ता आदि इत्यादि कुरा बाँकी नै छन्। ती सबै कुरा हेर्न र अनुभव गर्न अझ कमसेकम ४/६ महिना कुनुपर्ने अवस्था छ।

३. तैपनि नेताहरू अधैर्य भएर अहिले नै संविधानप्रति विष वमन गर्न थालेका छन्। उनीहरूले यस्तो बेलामा त्यस्तो अभिव्यक्ति दिँदैछन् जब कि संविधान घोषणा गर्दा आफ्नो घरको बत्ती मारेर संविधानको विरोध गरेकाहरूले तेस्रो चरणको स्थानीय निर्वाचनमा खुशीसाथ भाग लिँदैछन्।

४. संविधानको कार्यान्वयन भरखरै शुरु भएको बेलामा संविधानको यो कुरा भएन, त्यो कुरा भएन, भनी टीकाटिप्पणी गर्दा जनमानसमा त्यसको के सन्देश जान्छ, नेताहरूले त्यसको पटक्कै ख्याल गरेको देखिएन। एक दुर्इ पटक कार्यान्वयन भएपछि त्यसको प्रतिफल कस्तो हुन्छ, राम्रो हुन्छ कि नराम्रो हुन्छ, त्यो हेरेर प्रतिक्रिया दिनु अकै हो।

५. त्यसलाई हेर्दै नहेरी तथा त्यत्तिसम्म पनि प्रतीक्षा नगरी संविधानको यो संशोधन गर्नु पर्दछ भन्नु, पूर्वाग्रह हो, संविधानप्रति अविश्वास प्रकट गर्नु हो। आफैले हस्ताक्षर गरेको संविधानप्रति अविश्वास गर्दा त्यसको परिणाम के हुन्छ। यस्तो कुरामा नेताहरूले किंचित पनि ख्याल गरेको देखिएन।

६. अरू त अरू, नेताहरू मध्ये भरोसा लाग्दामा गनिएका एमाओवादी केन्द्रका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले समेत बेला न कुबेला संविधानको प्रावधानको विपरीत अभिव्यक्ति दिने गरेका छन्। उनले फेरि कार्यकारी प्रमुखको कुरा उठाएका छन्। फेरि भरखरै पूर्ण समानुपातिको कुरा पनि उठाएका छन्। के यी कुरा सामयिक छन् –

७. संविधानको धारा कार्यान्वयन गर्दा त्यसले खराव नतिजा दियो भने, त्यसलाई के कसरी सच्याउने र सुधार गर्ने, पहिले त्यतातिर लाग्नु पर्दछ। हात दुख्यो भने हातै काट्नु पर्दछ भन्नु उचित होइन। संविधान सबै पाटीको साझा दस्तावेज भएकाले यसका विशेषताहरू फेर्नु त्यति सजिलो छैन। सस्तो लोकप्रियताका लागि यो फेर्नु पर्दछ र त्यो फेर्नु पर्दछ भन्नु गैरजिम्मेवार कुरा हुन्छ। यसलाई कार्यान्वयन गर्नु अहिलेको सबभन्दा ठूलो कुरा हो। सबैको ध्यान त्यसैमा केन्द्रित हुनु पर्दछ।