शिवरात्रि पर्व

१. नेपालमा धेरै चार्डपर्व मानिन्छन्। तीमध्ये एक हो शिवरात्रि। शिवरात्रि पर्व अरु पर्वभन्दा बेग्लै छ। यो मनाउने तरीका पनि फरक छ। अरु पर्वहरु भोज भतेर गरेर मनाइन्छन् भने यसमा त्यस्तो भोजभतेर हुँदैन शिवरात्रिमा धुनी जगाइन्छ, धुनीमा आङ सेकाइन्छ र धेरै ठाउँहरुमा त्यही धुनीमा उखु पोलेर त्यसलाई पड्काइन्छ र तातो रसिलो उखु खाने गरिन्छ।

२. भक्तजनहरुले यस दिनमा महादेवको पूजा गर्दछन् र पूजा गरेर प्रसाद ग्रहण गर्दछन्। यस दिनमा महादेवको मन्दिर भएको ठाउँमा मेला लाग्दछ। मानिसहरु रातभर जाग्राम बस्दछन्। नाचगान गर्दछन्। सबभन्दा ठूलो मेला काठमाडौंको पशुपतिनाथमा हुन्छ। पशुपति देशको विभिन्न भागका साथै भारतबाट हजारौं भक्तजन तथा साधु सन्यासीहरु पशुपतिको दर्शन गर्न आउने गर्दछन्।

३. पशुपतिको मेलामा गाँजा भाङ आदि खाने परम्परादेखिको चललन हो। भक्तजनहरु शिवजीको प्रसादका रुपमा ती कुरा ग्रहण गर्दछन्। पहिले सरकार आफैले पनि गाँजा आदि साधु सन्तका लागि वितरण गर्ने गर्दथ्यो। तर अहिले त्यो प्रतिबन्धित गरिएको छ। तैपनि सरकारले धुनी जगाउन काठको व्यवस्था गर्ने गर्दछ र उनीहरु र्फकने बेला केही उपहार आदि प्रदान गर्ने गर्दछ।

४. पशुपतिका धेरै नाम छन्। तीमध्ये किराँतेश्वर उनको पुरानो नाम हो। किराँतहरुले पुज्ने र मान्ने भएकाले किराँतेश्वर भनिएको हो। किराँतेश्वरको आफ्नै व्यवस्था छ , चालचलन छ , रहनसहन छ। अरु देवतासँग यिनको रहन-सहन मिल्दैन। पछि हिन्दूहरुले यिनलाई ठूलो स्थान दिएर आफ्ना  ब्रह्मा, विष्णुका साथ यिनलाई सामेल गरेर त्रिदेवको सम्मान प्रदान गरेका हुन्।

५.शिवजीका धेरै विशेषता छन्। तान्त्रिकहरुले यिनलाई तान्त्रिक देवता मान्छन्। शिवजीको तन्त्र विद्या कडा मानिन्छ। ध्यानीहरुले ध्यान गुरु मान्छन् भने नाचगान गर्नेहरुले आजकै दिन नाच सिक्नु राम्रो मान्दछन्। शिवजीको ताण्डव नृत्य सबैले सुनेको कुरा हो। ताण्डव नृत्यले प्रलय मच्चाउँछ भन्ने गरिन्छ।

६. शिवजीले कैलाशमा बस्दछन् भन्ने शास्त्रमा उल्लेख छ। उनी नेपालको हिमालीक्षेत्रमा बस्ने भएकाले उनलाई विशुद्ध नेपाली देवताका रुपमा पनि हेर्ने गरिन्छ। तर अहिले नेपालमा विदेशी हावा आएकाले शिवजीको प्यारो वस्तुका रुपमा परिचित आयुर्वेदिक जडिबुटीको सेवन तथा मानव जीवन स्वस्थ र सुन्दर बनाउने अष्टांग योग साधनाको अभ्यासलाई  उपेक्षा र  उपहास गरिएको छ।

७. शिवरात्रिको मेला नेपालको प्राचीन मेला मध्ये एक हो। र यो मेला देशका अधिकांश भाग जहाँ शिवजीको मन्दिर छ, मूर्ति छ, त्यहाँ लाग्ने गर्दछन्। शिवरात्रि आफ्नै किसिमको मेला हो। पशुपति विकास कोषले यसको लागि विशेष तैयारी गर्ने गर्दछ र उदारतापूर्वक खर्च गर्ने गर्दछ। समय बदलिएकोले अब परिवर्तित समय अनुसार यसबाट आम्दानी गर्ने उपाय सोच्नु पनि सान्दर्भिक हुन्छ।