शान्ति सुरक्षामा चुनौती

१. देशमा विस्तारै शान्ति सुरक्षाको स्थिति खल्बलिदै गएको छ । चोरीका घटना बढ्दै छन् । हत्या हिंसा, आतंक बढेको छ। राजधानीमा पूर्व राजदूत केशव झाको निर्ममता पूर्वक हत्या गरिएको छ। बालबालिका हराउने एउटा रोग भएको छ। केही समय देखि मौन हिंसाका घटनामा वृद्धि भएको छ भने किशोरीको बलात्कार र बलात्कार पछि हत्या गर्ने घटनाले सीमा नाघेको छ । पोखरामा पनि बिहीवार विद्यालयबाट घर र्फकदै गर्दा वेपत्ता भएकी एक किशोरी पुष्पा केसी सन्दिग्ध अवस्थामा मृत फेला परेकी छिन्।

२. कञ्चनपुरमा किशोरी निर्मला पन्तको हत्या प्रकरणले उग्र रुप लिएको छ। त्यहाँ महिनादेखि हत्यारा पत्ता लगाएर कडा कारवाही गर्न मानिसहरु सडकमा उत्रेका छन्। सडकमा उत्रेकाहरुलाई लाठी चार्ज, अश्रुग्याँस प्रयोग गर्नुको साथै गोली पनि प्रहार गरेका छन्। जसको कारण एक जना युवा खन्नी खन्नाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।

३. त्यहाँ प्रशासनले कर्फ्र्यू लगाएको छ। स्थितिलाई नियन्त्रण गर्न अर्समर्थ भएको आरोपमा प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकृतलाई काठमाण्डौ फिर्ता बोलाएर नयाँ अधिकारीहरु त्यहाँ पठाइएका छन्। तैपनि स्थिति नियन्त्रणमा आएको छैन। त्यहाँको स्थिति उत्तेजक अवस्थामा पुगेको छ।

४. कञ्चनपुरको घटना केन्द्रमा पनि पुगेको छ।संघीय संसदमा पनि त्यसबारे प्रश्न उठेको छ। संघीय संसदले संकल्प प्रस्ताव पनि पारित गरेको छ। पारित प्रस्तावमा संविधान र कानूनले प्रदत्त गरेका हक अधिकारका विषयमा र महिलामाथि हुने हिंसा, शोषण र दमन विरुद्ध देशव्यापी रुपमा व्यापक अभियान चलाउन पनि सरकारलाई निर्देशन गर्दछ भनिएको छ।

५. कञ्चनपुरमा प्रहरीले एकजनालाई पक्रेको छ। तर सडकमा उत्रेका प्रदर्शनकारीहरुले असली अपराधी प्रशासनले नपक्रेकोमा आपत्ती जनाउँदै स्थानीयहरु उद्वेलित भएका छन्। त्यहाँको स्थिति कहाँ पुग्छ, अहिले भन्न सक्ने स्थिति छैन।

६. त्यहाँ त्यस्तो घटना भइरहेको बेला यौन बलात्कारको घटना अन्यत्र पनि भएको छ। लाहानमा नशालु पदार्थ खुवाएर एक महिलालाई बलात्कार गरिएको छ। केही समयदेखि बलात्कारका घटनाहरु बढ्दै गएका छन्। यो घटना प्रहरी प्रशासन र समाजकै लागि एक ठूलो चुनौती भएको छ।

७. यौन बलात्कारका घटना हुनु , बलात्कार पछि निदोर्ष व्यक्तिको हत्या गरिनु जघन्य अपराध हो। यस्तो जघन्य अपराधमा प्रहरी प्रशासनले पनि उत्तिकै संवेदनशील भएर काम गर्नु पर्दछ र अपराधीलाई यथासम्भव छिटो पक्रेर उचित कारवाही गर्नु पर्दछ। यस्तो घटना एक ठाउँमा होइन, जताततै भएकोले गृह प्रशासन विशेष चनाखो हुनु आवश्यक छ।