शान्ति सुरक्षाको स्थिति

१. चुनाव बिथोल्ने उद्देश्यले गरिएको बम र बारुदको विस्फोटका घटना जति पछि भयो, उति बाक्लिदै गएको छ। हिजो तर्सानलाई पड्काइएको अनुमान गरिएको बम र बारुदले अहिले हिंसात्मक रुप लिएको छ। यसले श्रृङ्खलाबद्ध रुप लिएतापनि सुरक्षाकर्मीहरुले विस्फोटका घटना घटाउनेहरुलाई ठाउँको ठाउँमा पक्रन सकेका छैनन्।

२.चुनाव प्रचारका शुरुका दिन पश्चिमतिर विस्फोटका घटना भएका थिए। पश्चिमबाट यो जताततै फैलिएको छ र यसले श्रृङ्खलाबद्ध रुप लिएको छ। प्रधानमन्त्री एवम् काङ्ग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएको दाङमा भएका चुनावी कार्यक्रममा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी म्यादी प्रहरी २३ वषीय विनोद चौधरीको विस्फोटमा परी मृत्यु भएको छ।

३. यस अघि त्यस्तो विस्फोटमा परेर केही घाइते भएका थिए। उदयपुरको क्षेत्र नम्बर २ का काँग्रेस उम्मेदवार सहितका सात जना चढेको गाडी माइन विस्फोटमा परेको छ। विस्फोटमा परेर त्यस क्षेत्रका काँग्रेस उम्मेदवार नारायण बहादुर कार्की गम्भीर घाइते भएका छन्। विस्फोटमा परेर गाडीमा सवार राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल पनि घाइते छन्। गाडी नराम्ररी क्षतविक्षत भएको छ।

४. विस्फोटका घटनाबाट सुरक्षार्की मारिएका छन् भने उम्मेदवार गम्भीर घाइते भएका छन्। गृह मन्त्रालय र सुरक्षा निकायले ती घटनालाई जति गम्भीर किसिमले लिनुपर्ने हो, त्यत्ति लिएको देखिएन। शुरुका दिनमा हवाइ गस्ती गर्नेसम्म भनिएको थियो, तर त्यसको प्रभाव त्यत्ति परेको देखिएन। किनभने घटना चर्को हुँदै गएको छ।

५. विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले चुनाव विथोल्ने कुरा गरेको थियो। हाम्रो देशको लागि यो विडम्बना नै भएको छ कि १० वर्ष माओवादीले सशस्त्र युद्ध गर्‍यो। जसमा १७ हजार दाजुभाइको अनाहकमा ज्यान गयो। अब बल्ल शान्ति प्रक्रियाबाट त्यो पार्टीराजनीतिको मूलधारमा आयो। तर सबै आएनन्। आफूलाई क्रान्तिकारी मनाउन तथा खाँटी कम्युनिष्ट भन्नेहरुले बम र बारुदको प्रयोग गरिरहेका छन्।

६. यसअघि वैद्य पक्ष कम्युनिष्टहरुले पनि चुनाव वहिष्कारको घोषणा गरेका थिए। वैद्य पक्ष भएको रामबहादुर थापा -बादल) ले सार्वजनिक ठाउँमा व्यालेट बक्सा फुटालेर आफ्नो ध्वंशात्मक रुप देखाएका थिए। तर उनी हैरान भए शायद्। उनी प्रचण्ड पक्षमा लागे। विप्लव र विप्लवका कार्यकर्ताहरुले हतियारको मोह त्यागेका छैनन्।

७. त्यसैका कारण आज चुनावको बेला दिनदिनै भनेजस्तो गरी बम र बारुदको विस्फोट भइरहेको समाचार आएको छ। यस्तै किसिमले देशले कहिले शान्ति पाउँछ – यो अति भयो। यसमा सुरक्षा निकायको पनि कमी कमजोरी देखिन्छ। यो स्थितिलाई गम्भीरतापूर्वक लिएर तुरुन्त शान्ति सुरक्षाको स्थिति सुधार्नु आवश्यक छ।