शहीद दिवस

१. आज शहीद दिवस। शहीद सप्ताहको आखिरी दिन। वि.सं. १९९७ सालमा राणा सरकारले शहीद बनाएका चार जना शहीद शिरोमणि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई हामीले श्रद्धाञ्जली अर्पण गर्‍यौँ भने आज सामूहिक रुपले ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुप्रति विशेष कार्यक्रम राखेर श्रद्धाञ्जली अर्पण गर्दैछौँ।

२. राष्ट्रको जीवनमा शहीदहरुको विशेष स्थान हुन्छ। शहीदहरुले राष्ट्र र राष्ट्रियता तथा प्रजातन्त्रका लागि आफ्नो जीवन बलिदान दिएका छन्। उनीहरुको त्याग र बलिदानले गर्दा राणा शासनको अन्त भएको हो। पञ्चायती व्यवस्था फाल्न पनि दर्जनौं शहीदहरुले आफ्नो जीवन उर्त्र्सग गरेका थिए भने गणतन्त्र स्थापना गर्न पनि धेरैले शहीद हुनु परेको थियो।

३. हाम्रो देशमा राजनीतिको धेरै उतारचढाउ भयो। पटक-पटक राजनीतिक व्यवस्था फेरिए। देश एक कदम अगाडि जान लाग्छ, प्रतिक्रियावादीहरुले फेरि पछाडि धकेल्ने प्रयास गर्दछन्। प्रतिक्रियावादी र सामन्तीहरुलाई पछार्दै अघि बढ्नु पर्दा धेरै पटक धेरै शहीद हुनु परेको यथार्थता हामीसँग छ।

४. हामीसँग धेरै शहीद छन्। तर शहीदहरुबाट पाठ सिकेर देश र समाजको लागि काम गर्नेहरु धेरै भएनन्। निःस्वार्थले काम गर्नेहरु त्यसरी देखिएनन्। जसले गर्दा देशमा विकृति र विसंगति बढे। भ्रष्टाचार बढ्यो। नातावाद र कृपावाद बढ्यो। अर्ति उपदेश दिनेहरु धेरै भए तर तदनुसार काम गर्नेहरु भएनन्। जसले गर्दा देश विकासको बाटोमा जान सकेन।

५. निहीत स्वार्थी नेताहरुले गर्दा शहीदको अवमूल्यन भयो। उनीहरुले आफ्नो स्वार्थ अनुकूल शहीद घोषणा गरेबाट शहीदको संख्या बढ्यो। तर शहीदको सपना साकार पार्ने कोही भएनन्। हिजो राष्ट्रिय शहीद भनिन्थ्यो भने पछि पार्टीको शहीद र जातजातिका शहीद बनाउने प्रयास समेत गरिए। त्यसरी शहीद घोषणा गर्ने क्रम जारी छ।

६. एक पक्षले घोषणा गरेको शहीदलाई अर्को पक्षले अनादर गर्ने पनि गरियो। शहीदको शालिकलाई उचाल्ने, पछार्ने र सार्ने पनि गरियो। केहीले सरकारबाट निश्चित रकम लिनका लागि आफ्नो मान्छेलाई शहीद घोषणा गरियोस् भनी आन्दोलन गरेको पनि देखियो। शहीद पनि मागी खाने भाँडो जस्तो भयो।

७. त्यो जे भए पनि र जसले जे गरे पनि शहीद भनेको शहीद हो। शहीदको स्मरण मात्रले पनि त्याग, तपस्या र समर्पणको स्मरण हुन्छ। शहीदको सपना भनेको हाम्रो लागि एक उदाहरण हो। उनको त्यो सपना पूरा गर्नु हाम्रो कर्तव्य हो। फेरि शहीद दिवस काठमाडौंमा काठमाडौं महानगरपालिकाले मात्र मान्ने गरेको छ। मानौं शहीदहरु उसको मात्र पेवा हो। शहीद दिवसलाई अझै हामीले व्यापक पार्न सकेका छैनौं। पोखरामा एक दुर्इ पटक मान्ने गरिएको थियो। पछि त्यो पनि मान्न छोडियो। शहीदको नाम हामीले धेरै पटक लिन्छौं, तर त्यसको उचित आदर सम्मान गर्न सकेका छैनौं। हामी यसमा संवेदनशील हुनुपर्दछ र शहीद दिवसलाई कुनै पूर्वाग्रह नराखी भन्ने परम्परा बसाल्नु पर्दछ।