शंकराचार्यका लागि प्रस्तुत हिमानन्द गिरि

१. नेपालकी एक महिला हिमानन्द गिरी महामण्डलेश्वरमा स्थापित भएपछि धार्मिक क्षेत्रमा उनी चर्चित बनेकी छिन्। महामण्डलेश्वरलाई धार्मिक क्षेत्रमा सेनापतिका रुपमा लिने गरिन्छ। त्यस्तो महत्वपूर्ण महामण्डलेश्वर पदमा आसीन उनै हिमानन्द गिरीले उत्तराखण्ड स्थित बद्रीनाथपीठ वदरिकाश्रमको शंकराचार्य पदको लागि प्रस्तुत भएपछि उनी चर्चाको शिखरमा छिन्।

२. शंकराचार्य परम्परामा अझसम्म कुनै पनि महिला त्यस पदमा पुगेको रिर्कर्ड छैन। एक त अझसम्म कुनै पनि महिला त्यस पदमा नपुग्नु र अहिले महिला मात्र नभएर एक नेपाली महिलाले त्यस गरिमामय पदमा आफूलाई प्रस्तुत गर्नु आफैमा महत्वपूर्ण कुरा हो। उनी आफू त्यस्तो पदमा प्रस्तुत भएकीले सबैको साथ, सहयोग र सिफारिशका लागि सबै धार्मिक संघसंस्थाहरुसमक्ष हार्दिक अपिल गरेकी छिन्।

३. झापा जिल्लाको एक न्यायाधीश परिवारमा जन्मेकी उनी सुशिक्षिता छिन्। धर्ममा उनको गहिरो रुचि छ। उनकी आमा पनि सन्यासी भएकी छिन्। आमा छोरी नै सन्यासी भएर उनीहरुले धेरै महत्वपूर्ण कार्य गरेका छन्। हिमानन्द गिरिले रामदेवको योग शिविरमा बसेर योग गुरुको उपाधि पनि पाएकी छिन्। उनले पोखरा आएर पनि योग शिविर सञ्चालन गरेकी थिइन्।

४. शंकराचार्य हिन्दू धर्मको सर्वाधिक ठूलो पद हो। पञ्चायत कालमा नेपाल हिन्दू अधिराज्य भएको बेला नेपालमा शंकराचार्यको आवश्यकता महसुस गरिएको थियो। त्यसबेला भारतीय साधु सन्यासीहरुले नेपालका राजालाई हिन्दू सम्राट भन्ने गर्दथे। तर हिन्दू राष्ट्रलाई अप्ठ्यारो परेको बेला हिन्दूस्थानका हिन्दू संघसंस्थाहरुले कहिल्यै नेपाललाई साथ दिएनन् र सहयोग गरेनन्।

५. त्यसबेला नेपालका राजाले नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस् भनी प्रस्ताव गरे। हिन्दूस्थानले त्यो प्रस्तावलाई कहिल्यै समर्थन गरेन। त्यहाँको सरकारले प्रस्तावको समर्थन नगर्नु राजनीतिक कारण हुन सक्दछ, तर त्यहाँका हिन्दू धर्मसँग सम्बन्धित संघसंस्थाहरुले पनि हिन्दू सम्राटबाट प्रस्तावित हिन्दू अधिराज्यलाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्तावको समर्थनमा एक शब्द बोलेनन्। त्यसबेला नेपालका धार्मिक व्यक्तिहरुले नेपालमा नै एक शंकराचार्यको आवश्यक भएको महसुस गरेका थिए।

६. नेपालमा शंकराचार्य स्थापित गर्ने प्रयास कहिल्यै भएन। नेपाललाई हिन्दूराष्ट्र बनाउन खोज्ने तर हिन्दूराष्ट्रको तालाकुची भारतीय धर्मगुरुहरुलाई दिएर बस्ने हाम्रो स्थिति राम्रो होइन। हामीले यस सम्बन्धमा केही न केही गर्नु नितान्त आवश्यक छ। राष्ट्रलाई यस्तो महसुस भएको बेला नेपालकी एक चेलीले आफूलाई शंकराचार्यका लागि प्रस्तुत गर्नु ठूलो कुरा हो।

७. यो एक नेपालीका लागि मौलिक र आध्यात्मिक श्रेष्ठताको कुरा हो। यस्तो मौका फेरि फेरि आउँदैन। यो समयको महत्व र गम्भीरतालाई ध्यानमा राखेर सबै सचेत र जागरुक भएर शंकराचार्यका लागि प्रस्तुत भएकी हिमानन्द गिरिका सम्बन्धमा जान्नु बुझ्नु आवश्यक छ र उनको त्यो प्रयासमा हामीले के कस्तो साथ, समर्थन र शिफारिस आदि के गर्नु पर्दछ, त्यो गर्नु बाञ्छनीय छ। उनको त्यो प्रयास सफल भएमा धार्मिक क्षेत्रमा नेपाल र नेपालीको मान र सम्मान अरु बढ्ने निश्चित छ। यो कुरालाई ध्यानमा राखी अघि बढ्नु आजको आवश्यकता हो।