वैज्ञानिक स्थापित रहेनन्

१. वरिष्ठ वैज्ञानिक भुवनरत्न स्थापितको औषधोपचारको क्रममा अमेरिकाको जेम्स ग्राहम ब्राउन क्यान्सर अस्पतालमा मंगलबारका दिन निधन भयो। उनी ६३ वर्षका थिए। उनी दुर्इ वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए। थाइल्याण्डको अस्पतालमा उपचार गराएर उनी केही हप्ता पहिले अरु उपचारका लागि अमेरिका गएका थिए। उनको अन्त्येष्टि अमेरिकामा नै गरिएको पारिवारक सूत्रले बताएका छन्।

२. पोखराको नदीपुरमा जन्मेका डा. स्थापितको नाममा “रत्न” रहेजस्तै आफ्नो कार्यगत एवम् क्षेत्रगत योगदानको हिसाबले पनि एक “रत्न” नै थिए। त्यसमा पनि उनले कृषि वालीको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गरेर तत्कालीन पोखरा उपमहानगरपाकिाले “नवरत्न” घोषणा गरी ऐतिहासिक सम्मान दिएको थियो।

३. त्यसबेला लुम्ले प्रोजेक्टमा कृषि विज्ञका रूपमा सेवा गरेका उनले बेलायतको वेल्स विश्वविद्यालयबाट कृषि विषयमा विद्यावारिधि गरेका थिए। उनले यथास्थानमा जैविक विविधताको संरक्षण सहभागितामूलक बाली प्रजनन, समुदायमा आधारित जैविक विविधता व्यवस्थापन, सामुदायिक वीउ बैंक, घर बगैंचा लगायत क्षेत्रमा दिएको योगदान उल्लेखनीय थियो।

४. धानबालीको क्षेत्रमा उनको अनुसन्धान अरु उत्कृष्ट मानिन्छ। उनले रैथाने जातका धान जेठो बूढो र तराइका विभिन्न जातको धान क्रस गरेर छेमरोङ प्रजातिको धानको विकास गरेका थिए। त्यस्तै माछापुच्छ्रे-३ र ९ जातिका धान पनि उनकै अनुसन्धानको प्रतिफल हो। उनका यी अनुसन्धानका लेखहरू वैज्ञानिक जर्नलमा छापिए पछि उनको नाम नेपाल बाहिर पनि फैलिदै गएको थियो। कतिपय देशले उनलाई आफनो अनुसन्धान कार्यशालामा काम गर्न आमन्त्रण पनि गरेका थिए।

५. उनले नेपाल कृषि अनुसन्धान परिषद्मा काम गरे। उनले सन् १९९७ देखि वायोभर्सिटी इण्टर नेशनल नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा वरिष्ठ वैज्ञानिकको रूपमा काम गर्दै थिए। ली वर्डका उनी संस्थापक नै थिए। उनको नेतृत्वमा ली वर्डले कृषि वालीको क्षेत्रमा उल्लेख्य काम गरेको थियो। ली वर्डको नाम कृषि क्षेत्रमा लोकप्रिय भएको सर्वविदितै      छ।

६. उनका पिता मृगरत्न स्थापित शिक्षा विभागमा काम गर्दथे भने उनकी माता यशोमती शिक्षिका थिइन्। त्यो भन्दा ठूलो उनकी आमा र अनगारिका पनि भएकी थिइन्। उनकी जेठी आमा श्रद्धेय धर्मशीला पोखराको पहिलो थेरवादी बौद्ध अनगारिका थिइन्। एउटा यस्तो बौद्ध वातावरणमा उनको पालनपोषण र शिक्षादीक्षा भएको थियो।

७. उनी बौद्ध वातावरणमा हुर्के बढेकाले स्वभावैले शान्त र सुशील थिए। बौद्ध अनुष्ठानहरूमा सरिक हुन्थे र सकेको योगदान गर्दथे। उनी जहाँ गए पनि कर्मभूमि पोखरालाई नै  मान्ने गरेका थिए। उनी अन्तर्राष्ट्रिय संस्थामा काम गरेर अन्तर्राष्ट्रिय व्यक्ति भएर पनि पोखरा र नेपालबाट कहिल्यै टाढा हुन चाहेनन्। उनी कन्ट्री रेप्रिजेन्टेटिभ भएर आउने -जाने गर्दै रहेका थिए। यस्तो महत्वपूर्ण वैज्ञानिक पोखरा रत्नको निधन हुनु दुःखको कुरा हो। उनको निधनले यस क्षेत्रमा अपूरणीय क्षति भएको छ। हामी उनको निधनमा शोक प्रकट गर्दै उनको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ र उनको सुखावती भुवनमा बास होस् भन्ने कामना गर्दछौँ।