वृहत्तर लुम्बिनीको विकास

१. भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा धेरैको आँखा गएको छ। बौद्धहरुले लुम्बिनीको विकासका साथ बुद्ध धर्मको प्रचार प्रसारमा हाम्रो प्रामाणिक इतिहास २५०० वर्ष पुगेकोमा खुशी प्रकट गरेका छन्। उता आर्थिक विशेषज्ञहरुले लुम्बिनीबाट मनग्गे आम्दानीको सम्भावना भएको बताउने गरेका छन्।

२. लुम्बिनीको निश्चय नै सम्भावना छ। भविष्य छ। यसको सम्बन्धमा धेरैले बोलेका छन्। तर उनीहरुले बोले जसरी लुम्बिनीको काम हुन सकेको छैन। लुम्बिनी गुरुयोजना लागु भएको ४० वर्ष पुग्न लागेको छ। तैपनि त्यो गुरुयोजना पूरा भएको छैन। लुम्बिनी विकास कोषले त्यो पूरा गर्न अझै तीन वर्ष लाग्ने बताएको छ।

३. यसबीच लुम्बिनीमा राष्ट्रिय बौद्ध सम्मेलनहरु पनि भएका छन्। आवधिक रुपले विश्व बौद्ध सम्मेलन समेत पटक-पटक भएका छन्। तैपनि लुम्बिनीको विकास कार्यमा गति आएको छैन। अझ पनि विकास कार्य कछुवा गतिमा अघि बढिरहेको छ। विदेशीले गर्ने काम करिब सकिएको छ। तर नेपालले गर्नुपर्ने कामहरु अझै बाँकी छन्।

४. लुम्बिनीको विकासमा चासो राख्नेहरुले वृहत्तर लुम्बिनी विकासको कुरा अघि सारेका छन्। वृहत्तर लुम्बिनी अन्तर्गत कपिलवस्तु जिल्ला, रुपन्देही जिल्ला र नवलपरासी जिल्ला समेत पर्दछन्। शाक्यमुनि बुद्धसँग प्रत्यक्ष सम्बन्ध राख्ने ती जिल्लाहरुमा केही उत्खनन्का कार्यहरु भइरहेका छन्। जति उत्खनन् भएका छन्, त्यसबाट सन्तोषजनक परिणाम निस्केका छन्।

५. वृहत्तर लुम्बिनीको अवधारणा ल्याउनेमा प्रमुख हुन्-संयुक्त राष्ट्रसंघका निवर्तमान महासचिव मून उनले वृहत्तर लुम्बिनीको विकास गर्ने उद्देश्यले दक्षिण कोरियाका वास्तुकलाविद् क्वाकलाई गुरुयोजना बनाउन लगाए। गुरुयोजना तैयार भएको पनि चार वर्ष बितेको छ। तर त्यो गुरुयोजना सरकारबाट स्वीकृत भएको छैन।

६. लुम्बिनीको सम्बन्धमा गोष्ठी सेमिनार हुँदा लुम्बिनीको विकासमा हामी धेरै आत्तिएका देखाउँछौँ। तर ती गोष्ठी सम्मेलन सिद्धिएपछि लुम्बिनी विकासको नाम नै बिर्सन्छौँ। केही वर्ष यता लुम्बिनीमा वर्षैपिच्छे बौद्ध सम्मेलन भएका छन्। तर ती सम्मेलन र सम्मेलनका सहभागीहरु कसैले वृहत्तर लुम्बिनीको विकास गुरुयोजनालाई सम्झेको देखिएन।

७. अब ता सरकारले त्यो गुरुयोजना अस्वीकार गरेको हो कि भन्ने प्रश्न गुनपर्ने अवस्था आएको छ। निवर्तमान महासचिव मून आफू अफिसमा रहेकै बेला त्यो गुरुयोजना शुरु गर्ने विचारमा थिए। तर उनलाई त्यो अवसर प्राप्त भएन। लुम्बिनीबाट धेरै आशा अपेक्षा गरेको अवस्थामा वृहत्तर लुम्बिनीको विकासतिर हामी अघि बढ्नै पर्दछ। मूनको गुरुयोजनाको कार्यान्वयन गर्नुपर्दछ।