वृद्धाश्रमको महत्व

१. नेपालमा वृद्धाश्रमको इतिहास त्यति लामो छैन। वृद्धाश्रमले त्यति लोकप्रियता हासिल गरेको पनि छैन। वृद्धाश्रम भनेको परिवारबाट उपेक्षित, बेवारिसे र खान नपाएर सडक र गाउँवस्तीमा भौतारिर्इरहेकाहरुको शरण स्थल जस्तो सम्भिmने गरिन्छ। त्यसो भएकाले वृद्धाश्रमलाई त्यति राम्रो दृष्टिले हेर्ने गरिँदैन।

२. हो, कुनै बेला सडक बजारमा खान नपाएर भौतारिर्इरहेका, मागीखानेहरु तथा सुत्ने बस्नेको ठेगाना नभएकाहरुलाई एउटा आश्रय स्थलमा राख्ने विचारले वृद्धाश्रमको अवधारणा आएको हुन सक्दछ। काठमाडौंको पशुपति क्षेत्रमा स्थापित वृद्धाश्रममा अधिकांश त्यस्तै छन् भनिन्छ।

३. त्यसमा पनि केही छोरा बुहारीहरुले आफ्ना बाबुआमाहरुलाई घरमा राखी स्याहार-सुसार गर्नुको साटो पशुपतिलगायतका वृद्धाश्रममा लगेर राख्ने गरेबाट वृद्धाश्रमको प्रभाव नै नराम्रो भएको छ। तर त्यो जे-जस्तो भएपनि वृद्धाश्रम आजको समाजको एक आवश्यकता भएको छ र यसको महत्व बढ्दै गएको छ।

४. वृद्धाश्रमको किसिम पनि बढ्दै गएको छ। दिवा सेवाको अवधारणा लिएर पनि वृद्धाश्रमहरु खुल्दै गएका छन्। दिनभरि समवयस्कहरु एक साथ रहनु, आफ्नै किसिमको कुरा र व्यवहार गर्नु, साधारण खेल खेल्नु र मनोरञ्जन गर्नु उनीहरुका लागि ठूलो अवसर भएको छ।

५. स्तरीय वृद्धाश्रम खोल्ने पनि गरिएको छ। निश्चित रकम या शुल्क लिएर वृद्ध वृद्धाहरुलाई वृद्धाश्रममा राख्ने पनि गरिएको छ। त्यसरी वृद्ध वृद्धाहरुलाई राख्नु कुनै हेला गरेर होइन, उपेक्षित गरेर होइन, समवयस्कहरुसँग राम्ररी हाँसीखुशीसाथ जीवन यापन गर्न सकोस् भनेर हो। यसलाई अन्यथा सोच्नु हुँदैन। त्यसरी राख्ने छोराछोरी र आफन्तजन बराबर भेट्न जाने पनि गर्दछन्।

६. समाजका शिक्षा दीक्षा, सञ्चार र सूचना प्रवाहले समाजलाई द्रुततर गतिले आधुनिक बनाएको छ। आधुनिकतातिर अग्रसर यो गतिले पुरानो पुस्ता र नयाँ पुस्ताको फासला बढाएको छ। सोच, विचार, रहन-सहन र जीवनयापको हरेक पक्षमा त्यो फासला बढ्दो छ। हाम्रोको लागि यो ठूलो अभिशाप भएको छ। जसले गर्दा संयुक्त परिवारको हाम्रो परम्परा र संस्कृति ह्रास हुँदै गएको छ।

७. यस्तो स्थितिमा चाहेर होस् या नचाहेर वृद्धाश्रम समाजको लागि नैसर्गिक आवश्यकता भएको छ। बरु हामीले वृद्धाश्रमप्रतिको हाम्रो पुरानो धारणा परिवर्तन गर्नु पर्दछ। हेयको भावना हटाउनु पर्दछ। सहयोग गर्ने भावना बढाउनु पर्दछ र वृद्धाश्रम भनेको हामी आफै पनि बस्नु पर्ने ठाउँ हो भनी सोचेर व्यवहार गर्नु पर्दछ।