वी.पी.को स्मृति

१. नेपालका लागि इजरायली राजदूत बेन्नी ओमरले गत आइतबार काठमाडौंको सुन्दरीजल स्थित वी.पी. कोइराला संग्रहालयमा वृक्षारोपण गरी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई स्मरण गरे। उनले जननेता कोइरालाले इजरायल भ्रमण गर्दाका तस्वीरहरु संग्रहालयलाई प्रदान पनि गरे।

२. राजदूत बेन्नी ओमरले वी.पीले एशियामा नै पहिलो पटक इजरायललाई मान्यता दिएको सम्झँदै नेपाल र इजरायलको सम्बन्ध वी.पी.ले परिकल्पना गरेकै आधारमा अघि बढ्ने बताए। उनले नेपाली कामदारलाई इजरायलमा अझै अवसर दिने पनि उल्लेख गरे। राजदूतको त्यस अभिव्यक्तिले वी.पी.को दूरदर्शितालाई अरु प्रष्ट्याएको छ।

३. वी.पी.ले भारतले गरेको काम हेरेर नेपालले पछ्याउने परराष्ट्र नीतिमा आमूल परिवर्तन गरी अस्तित्वका लागि संर्घष्ा गरिरहेको इजरायललाई मान्यता दिएका थिए। वी.पी.को त्यस निर्णयले परराष्ट्र नीतिको क्षेत्रमा ठूलो खैलाबैला भएको थियो। नेपालले त्यो मान्यता दिएको बेलामा भारत मात्र होइन, एशियाको कुनै पनि देशले मान्यता दिएको थिएन।

४. उनले इजरायल र अरब देशहरुको युद्धलाई इजरायलले अस्तित्वका लागि लडिरहेको भन्थे भने अरबहरु व्यक्तित्वका लागि लडिरहेको व्याख्या गरी आफूले अस्तित्वको संकटमा परेकाको समर्थन गरेको बताउने गरेका थिए। सन् १९४८ मा स्थापना भएको इजरायललाई अरबहरुले धपाएर पठाउने प्रयास गरेका थिए।

५. ग्याँस च्याम्बरमा लाखौं इजरायलीहरुको एक चिहान बनाइए पछि मानवतावादीहरुको ध्यान इजरायलमाथि गएको थियो। त्यसबेला उनीहरुको राज्यको नाममा कुनै भूभाग थिएन। वी.पी. कोइरालाले हिटलर र यहुदी भन्ने ग्रन्थ नै तैयार गरेका थिए। त्यसबेला इजरायलीहरुले नेपाललाई वी.पी.को देश भन्ने गर्दथे।

६. वी.पी. प्रधानमन्त्री भएकै बेला इजरायलमा आयोजित अन्तर्राष्ट्रिय बुद्धिजीवी सम्मेलनमा भाग पनि लिएका थिए। त्यस सम्मेलनमा पनि उनले आफ्नो छुट्टै छाप छोडेका थिए। अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनमा वी.पी.ले पुर्‍याएको योगदानबाट पनि इजरायल प्रभावित भएको थियो। इजरायल प्रजातान्त्रिक समाजवादी मुलुक मानिन्छ।

७. वी.पी. ले त्यसबेला गरेका कामहरु र कामका प्रभावहरु आज पनि विदेशीहरुको मन मस्तिष्कमा ताजा रहिरहनु ठूलो कुरा हो। साढे पाँच दशक भन्दा पहिलेका घटनाको स्मरण गरी एक जना राजदूतले उनको स्मृतिका पानाहरु पल्टाएर प्रशंसा गर्नु सबै नेपालीको गौरवको विषय हो। नेताहरुको खडेरी परेको बेला उनको स्मरणले पनि एउटा उत्साहको सञ्चार गर्दछ र भविष्यप्रति आशावादी हुन प्रेरित गर्दछ। यी सबैका लागि हामी राजदूत ओमरप्रति धन्यवाद ज्ञापन गर्दछौँ।