वी.पी.को सम्झना

१. आज फेरि एक पटक राष्ट्रले जननेता वी.पी. कोइरालालाई सम्झँदैछ। वी.पी. कोइराला राजनीतिका शिखर व्यक्तित्व थिए। उनी नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री थिए। उनी १८ महिना मात्र प्रधानमन्त्री भए, तर त्यो अवधिमा उनका कार्यहरु उल्लेखनीय रहेका थिए। त्यसका अतिरिक्त, उनलाई नेपाली साहित्यको शिखर धरोहरका रुपमा पनि लिने गरिएको छ।

२. वी.पी. कोइरालाको यो विशेषता रहेको थियो कि उनले राजनीतिको थालनी गर्दादेखि नै उनी राजनीतिको केन्द्रविन्दु भएर रहे। चाहे उनी प्रधानमन्त्री भएका बेला होस् या बन्दी जीवनमा रहेको बेला होस् उनी उत्तिकै चर्चित रहे। स्वनिर्वासनको बेला भारतमा रहेको बेला उनी सबैकेा चासोको विषय भएर रहे।

३. अको महत्वको कुरा के पनि छ भने उनी जति प्रौढतातिर ढल्कँदै गए, उति उनको महत्व बढ्दै गएको थियो। उनको देहावसान पश्चात् उनलाई पहिलो आलोचना गर्नेहरुले नै उनको प्रशंसा गर्न थालेका थिए। जुन क्रम आजसम्म जारी छ। उनी नेपालको राजनीतिको अद्वितीय एवम् महामानवका रुपमा स्थापित भएका छन्।

४. उनको जीवनकालमा कतिपयले उनलाई भारततिर ढल्केका व्यक्तिका रुपमा आलोचना गर्दथे। त्यसो भन्नेहरुले उनको राष्ट्रियतामा औंला ठड्याउने गर्दथे। त्यसरी उनको आलोचना गर्नेहरु मध्ये एकातिर कम्युनिष्टहरु थिए भने अकोर्तिर दरबार र दरबारका शक्तिहरु समयको क्रमले ती दुवैको आलोचना मिथ्या सावित भयो।

५. उनले २०१२ सालमा नै नेपाली काँग्रेसको घोषित नीति समाजवाद भनेर निर्ण्र्ाा गराएका थिए। प्रजातान्त्रिक समाजवादका उनी अथक योद्धा थिए। नेपालमा मात्र होइन, उनले अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा पनि आफ्नो दरिलो उपस्थिति जनाएका थिए र नेतृत्व पंक्तिमा आफूलाई स्थापित गरेका थिए।

६. वी.पी. कोइराला प्रधानमन्त्री छँदा स्वतन्त्र परराष्ट्रनीतिको जे जसरी कार्यान्वयन गरियो, त्यो आज पनि उदाहरणीय रुपमा रहिरहेको छ। उनले भारतका प्रधानमन्त्री नेहरुको उत्तरी सीमा सम्बन्धी अभिव्यक्ति तुरुन्त फिर्ता लिन लगाए भने उत्तरी छिमेकी चीनले सगरमाथा सम्बन्धी आफ्नो दावी त्यागेर सगरमाथा नेपालको हो भनी स्वीकार गर्‍यो। त्यस्तै मुस्ताङ र चीनको सीमामा भएको बमप्रसाद हत्याकाण्डको समाधान पनि अत्यन्त बुद्धिमत्तापूर्ण शैलीमा सम्पन्न भएको थियो । यसैप्रकार दक्षिण एशियामा नै पहिलो पटक नेपालले इजरायललाई मान्यता दिएको विशिष्ठ कारणले गर्दा उनको व्यक्तित्व अन्तर्राष्ट्रिय क्षेत्रमा पनि देखिने गरी उच्च भएको थियो।

७. उनी दूरदृष्टि राख्दथे। उनले नेपाली काँग्रेसको लागि केही निश्चित नीतिहरु र रणनीतिहरु तैयार गरेका थिए। तर उनी पछिका नेताहरुले ती नीति र रणनीति अख्तियार गर्न सकेनन्। ती नेताहरुले तत्काल फाइदा हुने नीति अख्तियार गरे। तिनीहरुलाई तत्काल फाइदा पनि भयो। तर अब पार्टीको अवस्था कस्तो भएको छ, त्यो सबैका सामु छ। यो दुर्दिनको बेला सबैले वी.पी. लाई सम्झने गरेका छन्।