वीपीप्रति अन्याय

१. नेपाली जनमानसले फेरि एकपटक जननेता वीपी कोइरालालाई सम्झेका छन्। नेपाली काँग्रेस, काँग्रेस निकट भएका र वीपीकै नामबाट स्थापित संघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेर उनको योगदानको चर्चा गरेका छन्। त्यस्तो आयोजनाका वक्ताहरुले उनको दूरदर्शिता, इमान्दारिता, राष्ट्र र राष्ट्रियताप्रतिको उनको विचार र व्यवहारको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

२. वीपी कोइराला निश्चय नै नेपाली राजनीतिक जगत्का चम्किला तारा थिए। त्यो ताराको तेजोवध गर्न र त्यसलाई ओझेलमा पार्न अनेक प्रयासहरु गरे, तर ती विरोधीको प्रयास सफल भएनन्। उनको महत्व अरु बढ्दै आएको छ। विरोधीले पनि आत्मालोचना गरेर उनको प्रशंसा गर्न थालेका छन्।

३. वीपी उदार थिए। उनले आफ्ना विरोधीलाई पनि उत्तिकै महत्व दिन्थे। उनको त्यही उदारता र सबैलाई समेट्ने भावनाले उनका विरोधी पनि नतमस्तक हुन्थे। आज उनका विरोधी नगन्य संख्यामा होलान्, तापनि उनको नाममा आयोजित कार्यक्रममा अन्य विचारधाराका मानिस विरलै देखिन्छन्।

४. वीपी प्रजातान्त्रिक समाजवादको प्रवर्तक नै मानिन्छ। उनको त्यो विचारको धेरै प्रशंसा गरिएको छ। तर आज उनको समाजवादको अवधारणा कहाँ गयो भनेर प्रश्न गरियो भने चार जना काँग्रेसले चार किसिमको जवाफ दिन्छन्। अन्धाले हात्ती छोएर हात्तीको वर्णन गरे जस्तै भएको छ, समाजवाद।

५. समाजवाद सम्बन्धमा मात्र त्यसो भएको होइन, उनका अन्य विचारलाई पनि आजका नेताले आफू अनुकूलको व्याख्या गरेर उनको विचारको अवमूल्यन गर्ने प्रयास गरिरहेका छन्। नेताहरुको त्यस्तो प्रयासले विवाद माथि विवाद जन्माएका छन् र अगाडि जानुपर्ने अवस्थामा पछाडि फर्काउन खोजेको देखिएको छ।

६. साहित्यमा उनको आफ्नै मूल्य मान्यता थियो। उनले साहित्यलाई राजनीतिबाट टाढा राख्न चाहन्थे। उनको साहित्यमा मनोविज्ञान घुसेको हुन्थ्यो र त्यसमा यौन मनोविज्ञान पनि हुन्थ्यो। जसलाई स्वच्छन्दतावादी भनेर पनि भन्ने गरिएको थियो। तर आज त्यही साहित्य सर्वस्वीकृत भएको छ।

७. वीपी कोइराला दूरदर्शी थिए। निडर र निर्भिक थिए। स्पष्टवक्ता थिए। देशका लागि केही गरौं भन्ने भावना थियो। भिजन थियो। तापनि महत्वाकांक्षी राजा महेन्द्रले गर्दा देशले लामो समय उनको नेतृत्व पाउन सकेन। त्यस्तो ऐतिहासिक व्यक्तिलाई जेल राखियो, अराष्ट्रिय तत्व भनियो, उनलाई फाँसीमा झुन्ड्याउन सातवटा मुद्दाको प्रपञ्च रचियो। उनलाई बदनाम गराउन के गर्न बाँकी राखियो र ? तैपनि उनी नम्बरी सुन झैँ भएर निस्के। धु्रवतारा झै चम्के। उनको विचारलाई तोडमोड गर्ने, जुन प्रयास भएको छ, त्यो खतर्नाक छ। त्यो बेइमानी हो। त्यसो गर्नु वीपीप्रति अन्याय गर्नु हो।