विमस्टेकको सक्रियता आवश्यक

१. बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास  (विमस्टेक) को चौथो शिखर सम्मेलन आज काठमाडौंमा शुरु हुन गइरहेको छ। यो शिखर सम्मेलन भोलिसम्म रहने छ। सम्मेलनमा भारत, थाइलैण्ड, श्रीलङ्का, म्यानमार, बंगलादेश, भुटान र नेपालको सहभागिता रहेको छ।

२. नेपाल चौथो शिखर सम्मेलनको आयोजक देश भएकोले सरकारले विदेशी पाहुनाहरुको स्वागत सत्कार गर्न तथा सम्मेलनलाई उपलब्धिमूलक बनाउन धेरै प्रयास गरेको छ। विमस्टेक स्थापना भएको २० वर्ष पुगेको छ। तर यसले नाम अनुसारको खास कामहरु गरेको छैन। यसको कामबाट सदस्य राष्ट्रहरु पनि सन्तुष्ट देखिँदैनन्।

३. यस्तै अवस्थामा सधैं राखिराख्नु हुँदैन भन्ने सबैलाई लागेको छ। सम्मेलनले प्रस्तावहरु पारित गर्दछ, तर त्यसको कार्यान्वयन हुँदैन। आर्थिक र प्राविधिक सहायताका लागि गठन गरिएको संस्थाले दुर्इ पक्षीय या बहुपक्षीय त्यस्तो सहायताको ठोस काम कुराहरु केही गरेको छैन।

४. तेस्रो शिखर सम्मेलनमा नेपालको तर्फबाट तात्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सबै विमस्टेक देशहरुलाई जोड्ने गरी बौद्ध परिक्रमा पथ निर्माण गर्नुपर्ने प्रस्ताव राखेका थिए। त्यो प्रस्ताव सर्वसम्मतिबाट पारित पनि भयो, तर कार्यान्वयनको पक्षमा अझसम्म केही पनि भएको छैन।

५. नेपालले जलविद्युतबाट उत्पादित विजुली भारत भएर बंगलादेश लैजाने सोच गरेको छ। बंगलादेश त्यसको लागि तैयार पनि छ। त्यसको लागि वातावरण मिलाउन र प्रसारण लाइनको विस्तार गर्ने सम्बन्धमा नेपालको प्रयास छ। भारत भएर बंगलादेश विजुली पुर्‍याउन सके त्यो नेपालको लागि वेस उपलब्धि हुनेछ।

६. विमस्टेकको थाइलैण्ड, श्रीलंका, म्यानमार र भुटान बौद्ध देश हुन् भने भारत, बंगलादेश र नेपाल कुनै न कुनै किसिमले बुद्ध धर्मसँग सम्बन्धित देशहरु हुन्। त्यसमा पनि नेपाल बुद्धको जन्मभूमि हो। त्यसकारण बौद्ध परिक्रमापथ निर्माणमा जोड दिनु आवश्यक छ। अको, विद्युत् प्रसारण लाइनमा सहमति गरी अघि बढ्नु पनि उत्तिकै आवश्यक छ। संस्था सक्रिय भएमा अरु काम हुँदै जान्छन्।

७. विमस्टेकले काम केही गरेन भनी त्यसै राख्नु हुँदैन। हिजो विभिन्न कारणले नगरेको भएतापनि अब त्यसलाई सक्रिय पार्नु आवश्यक छ। यसमा भारत र थाइलैण्डले सकारात्मक भूमिका खेल्नु पर्दछ। विमस्टेकका सबै देशहरुको सम्बन्ध राम्रो छ। एक अकोर्प्रति सकारात्मक दृष्टिकोण छ। यस्तो अवस्थामा काम हुनुपर्दछ। यो सबैको आवाज हो।