विपक्षी गठबन्धनको आन्दोलन

१. राष्ट्रिय सहमतिका निम्ति सरकार र सत्तारूढ दल एकीकृत माओवादी पार्टीबाधक बनेको ठहर गर्दै विपक्षी दलहरूको गठबन्धनले आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। गठबन्धनले सुरु गर्ने भनिएको सडक आन्दोलन पत्रकार डेकेन्द्र थापा हत्याकाण्डलाई सशक्त रूपमा उठाउने गरी दैलेखबाट आगामी शनिबार प्रारम्भ गर्ने भएको छ। गठबन्धनको शीर्ष नेताहरूको उपस्थितिमा त्यहाँ प्रदर्शन र विरोधसभा गरिने भएको छ।

२. गठबन्धनले माघ ६ गतेदेखि २६ गतेसम्मको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। त्यसले माघ १० गते शहीद सप्ताहमा सरकारविरुद्ध प्रतिरोध सप्ताहको रूपमा मनाउने, माघ १२ गते देशका सबै जिल्ला सदरमुकाममा सबै दलको संयुक्त प्रदर्शन तथा विरोधसभा गर्ने भएको छ। शहीद सप्ताहको अन्तिम दिन १६ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने कार्यक्रम निर्धारण गरिएको छ।

३.     कार्यतालिकाअनुसार विरोध कार्यक्रम १९ गते बागलुङमा, २० गते विराटनगरमा, २१ गते नेपालगञ्जमा, २२ गतेमा पोखरामा, २३ गते धनगढीमा, २४  गते जनकपुरमा, २५ गते भैरहवामा, २६ गतेकाठमाडौंमा सभा र विरोध प्रदर्शन गर्ने भएका छन्। माथि उल्लेखित मुख्य कार्यक्रममा नजुध्ने गरी भ्रातृ स·ठनहरूले आ-आफ्नो कार्यक्रम राख्ने भएको पनि जनाइएको छ।

४. राष्ट्रिय सहमतिका निम्ति राष्ट्रपति डा. रामवरण यादवले नौपटक समय सीमा निर्धारण गर्दा पनि सहमति हुन सकेन। अबत राष्ट्रपतिले समय सीमा तोक्न छाडिदिएका छन्। राष्ट्रिय सहमति हुन नसकेकोमा सरकारी पक्षले विपक्षी पार्टीहरूलाई र विपक्षी पार्टीहरूले सरकारलाई दोष लगाउने गरेका छन्।

५. सरकारले वैशाखमा चुनाव गराउने घोषणा गरेको दिन पनि त्यसै बित्ने भएको छ भने केही दिनभित्र सहमति भए जेठमा चुनाव हुन सक्ने सम्भावना छ। तर त्यो सम्भावना पनि ज्यादै कम छ। अब पार्टीहरू नजिक आउलान् भन्दाभन्दै टाढा-टाढा पुग्ने भएका छन्। राष्ट्रिय सहमतिको कुरा आकाशको फलजस्तै हुने भएको छ।

६.     एकीकृत माओवादी सकेसम्म आफ्नो सत्ता लम्ब्याउने पक्षमा छ। चाहे सत्ता जे जसरी सञ्चालन भएको होस्, त्यसले त्यसको पर्वाह गरेको छैन। यता विपक्षीहरू पनि बाहिर प्रधानमन्त्रीको राजीनामा मागेतापनि भित्रबाट बदनाम भएको सरकार रहिरहोस् भनी चाहेको जस्तो छ। तिनीहरूले आन्दोलन गर्ने भन्दै धेरै समय बिताएका छन्। घोषित आन्दोलनले पनि प्रधानमन्त्रीलाई राजीनामा गर्न बाध्य पार्लाजस्तो छैन।

७. सरकार दिनपर दिन पतीत र भ्रष्ट हुँदै गएको छ। काुननी राजको खुल्लम खुल्ला उल्लङ्घन भएको छ। विकास निर्माण कुन चरीको नाम हो भन्नुपर्ने भएको छ। यस्तो अवस्थामा राजनीतिक पार्टीहरू कुकुर र बिरालोझैं लडिरहेका छन्। उनीहरूको अन्तहीन लडाइँबाट देश कहाँ पुग्ने हो, थाहा छैन। यस्तो अवस्थाको अन्त सकेसम्म छिटो गरिनुपर्दछ र एउटा निकास निकाल्ने उपाय गर्नुपर्दछ।