लुम्बिनीको बढ्दो आकर्षण

१. भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको गुरु योजना अनुसार गर्नुपर्ने काम सबै सम्पन्न भएका छैनन्। विदेशी राष्ट्र र संस्थाहरुले गर्नु पर्ने काम सिध्याएका छन्। तर नेपाल सरकार र नेपाली संस्थाहरुले गर्नु पर्ने काम अझै बाँकी छन्। त्यहाँ गर्नुपर्ने काम पूरा नभएतापनि लुम्बिनीको आकर्षण भने बढ्दै गएको छ।

२. लुम्बिनी विकास कोषले सन् २०१७ मा १६ लाखभन्दा बढी दर्शनार्थीहरुले लुम्बिनीको दर्शन गरेको जनाएको छ। तीमध्ये अधिकांश नेपाली छन्। नेपाली दर्शनार्थीहरुको संख्यामा सन् २०१६ मा १२ लाख ५१ हजार तीन सय ४६ थियो भने अरु भारतीय र तेस्रो देशका थिए। चिनीयाहरुको आकर्षण पनि केही वर्षदेखि बढ्दै गएको छ।

३. दर्शनार्थीहरुको संख्या बढे पनि उनीहरुको लुम्बिनी बसाई लम्बिएको छैन। उनीहरु आउँछन्, हेर्छन् र जान्छन्। स्थानीय पर्यटक व्यवसायीहरुका लागि यो चासोको विषय भएको छ। त्यसैले उनीहरु रुपन्देही, कपिलवस्तु र देवदहका सबै बौद्ध स्थलहरुको छिटो उत्खनन् गर्नुपर्ने र ती ठाउँको दर्शन अवलोकनका लागि बौद्ध परिक्रमा पथ निर्माण गनुपर्नेमा जोड दिँदैछन्।

४. लुम्बिनीले रुपन्देहीवासीहरुमा एउटा नयाँ चेतनाको विकास गरेको छ। उनीहरुले लुम्बिनीसँग आफ्नो भाग्य गाँसिएको सम्झेका छन्। रुपन्देही जिल्लाको प्रत्येक नगरपालिका र गाउँपालिकाहरुबाट लुम्बिनी जोड्ने बाटो बनाउँदैछन्। उनीहरु बाटो नभएको ठाउँमा बाटो बनाउने र बाटो बनेका ठाउँमा त्यसलाई चक्ल्याउने र स्तरीय बनाउने गर्न थालेका छन्।

५. एकातिरको स्थिति यस्तो छ भने अकोर्तिर त्यस क्षेत्रका बौद्धिक वर्ग, संयुक्त राष्ट्रसंघका निवर्तमान महासचिवले तैयार गर्न लगाएका वृहत्तर लुम्बिनीको गुरुयोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदैछन्। कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई समेटेर तैयार गरिएको त्यो योजना एक सय ५७ किलोमिटर क्षेत्रफललाई समेटेर बनाइएको छ। त्यो योजनामा शान्ति शहर बनाउने कुरा पनि छ। शान्ति शहर बनेपछि त्यो शहर विश्वको लागि एक नौलो र उदाहरणीय हुनेछ। र त्यसले नेपालको नाम अरु उच्च पार्ने छ।

६. लुम्बिनीले यत्ति महत्व बोकेको छ तापनि सरकारले यसलाई प्राथमिकताको दृष्टिले हेरेको छैन। करिब २० वर्ष पहिले शुरु भएको लुम्बिनीको गुरुयोजनाको काम अझै पूरा भएको छैन। विदेशीहरुले गर्नुपर्ने काम सबै पूरा हुने नेपालको तर्फबाट गर्नुपर्ने काम अझै बाँकी राखी राख्दा त्यसको सन्देश के जाला भन्ने पनि सोच्नु पर्ने हो।

७. लुम्बिनीमा भएको गतिविधि हेर्दा लुम्बिनी नेपालको प्रमुख पर्यटकीय स्थलको रुपमा विकास भएको छ। यसमा अब कसैले चिन्ता नलिए हुन्छ। तर यसलाई पर्यटकीय केन्द्रभन्दा धार्मिक केन्द्रका रुपमा अगाडि लैजानु पर्दछ। यसको विशेषता नै धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् पुरातात्विक महत्व रहेको छ। ती विषयहरुले गरेर नै यसको महत्व बढेको हो। त्यसकारण त्यसको संरक्षण, सम्बवर्द्धन र प्रचार प्रसारमा सम्बन्धित पक्षहरु लाग्नु आवश्यक छ।