लिम्पियाधुरा हाम्रो हो

१. केही दिनदेखि नेपालको नक्साको सम्बन्धमा चर्चा बढ्दै गएको छ। चर्चा अनुसार हेलो सरकारको टुइटमा राखिएको निशान छाप भएको नेपालको नक्सा त्रुटिपूर्ण छ। त्यस नक्सामा दार्चुला जिल्लाको कालापानीको टुप्पाको एक भाग लिम्पिया धुरा हटाइएको छ। जसले गर्दा नेपाली भूभाग ३१० वर्ग किलोमिटर खुम्चिन गएको छ।

२. हेलो सरकार यस्तो ठाउँ हो जहाँ प्रधानमन्त्री के.पी. ओली विराजमान भएर त्यहाँ आएका राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता लगायतका विषयमा सोधिएका प्रश्नहरुको सटिक जवाफ दिने गर्दछन्। त्यो ठाउँ विशेष किसिमले र सावधानीपूर्वक सजाइएको छ। त्यस्तो ठाउँमा पनि आफ्नो देशको त्रुटिपूर्ण नक्सा राखिएको थाहा पाउँदा धेरैले आर्श्चर्य प्रकट गरेका छन्।

३. हामी राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताको कुरा खूब गर्दछौँ। आफूलाई राष्ट्रवादी भनाउन धेरै प्रयास पनि गर्दछौँ। तर आफ्नो देशको भूभाग कहाँ कस्तो अवस्थामा छ भन्ने विषयमा पनि त्यत्ति ख्याल गर्दैनौं भन्ने कुरा निशान छापको नक्साले देखाएको छ।

४. नक्सामा नेपाली भूभाग खुम्च्याएको सम्बन्धमा नापी विभागले नक्सा प्रयोग गर्नेहरुलाई भनेका तर कसैले त्यसको कुरा नसुनेको विभागको गुनासो छ। यो एक संवेदनशील विषय हो। विभागले त्यो कुरा बाहिर ल्याएपछि त्यसबारे धेरै सोधखोज हुन थालेको छ। किन कसरी यस्तो भयो भन्ने प्रश्न जताततै उत्पन्न भएको छ।

५. त्यसरी प्रयोग भइरहेको नक्सा त्रुटिपूर्ण भएको भनेर सरकार पन्छिन खोजेको छ। तर त्यो कुरा त्यति भन्दैमा समाधान हुने विषय होइन। यसलाई त्यत्ति हल्का किसिमले लिनु हुँदैन। यो नक्साको मात्र कुरा पनि होइन र यो नेपालको मात्र विषय पनि होइन।

६. हाम्रो दार्चुला जिल्लाको कालापानीमा २०१७/१८ सालतिर अर्थात् भारत र चीनको युद्ध भएको बेला आफ्नो सुरक्षाको लागि भारतले नेपालसँग अनुमति लिएर आफ्नै फौज त्यहाँ राखेको हो। त्यसबेला आएको फौज त्यहाँबाट फिर्ता भएको छैन। न त हाम्रो सरकारले नै उनीहरुलाई फिर्ता पठाउन सकेको छ।

७. हाम्रो देशको अभिन्न अंगको रुपमा रहेको कालापानीलाई त्यसैबेलादेखि भारतले विवादित बनाउने प्रयास गरेको छ। लिम्पियाधुरालाई हाम्रो नक्साबाट हटाउने जालझेल र प्रपञ्च त्यसैबेला देखि शुरु भयो। नापी विभागले ढिलै भए पनि त्यो त्रुटिपूर्ण नक्सा औंल्याएको छ। लिम्पियाधुरा हाम्रो हो। लिम्पियाधुरा विनाको नक्सा मान्य हुँदैन।