लामो एकता प्रयास र कार्यकर्ताहरुको उत्साह

१. एमाले र माओवादी पार्टीको एकीकरण गर्ने काम निर्वाचनको लगत्तै हुन्छ भनिएको भएता पनि एकीकरण हुन सकिरहेको छैन। एमाले अध्यक्ष के.पी. ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक्ला-एक्लै वार्ता गर्नासाथ एकता हुन्छ भनेर अनुमान गरेतापनि त्यो एकता वार्ता प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको आयु लम्ब्याए झैँ लम्बिँदै गएको छ।

२. एमाले र माओवादी केन्द्रले पहिले सहमति गरेको पालैपालोको कुरा अहिले दुवै पक्षका नेताहरुले गर्न छोडेका छन्। पालैपालो सत्ता चलाउने कुरा गर्दा त्यसले जनमानसमा नराम्रो प्रभाव पर्ने भएकोले उनीहरुको त्यो कुरा अहिले उच्चारण गरेका छैनन्। तैपनि एकता गर्नु फलामको च्यूरा चपाउनु सरह भएको छ।

३. एमाले ठूलो पार्टीभएकाले त्यसका अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउनु माओवादी केन्द्रका लागि स्वीकार्य छ। तर एकीकृत पार्टीको अध्यक्ष दाहाललाई बनाउने कुरामा एमालेले स्वीकार्न सकेको छैन। अध्यक्ष दाहालले चार/पाँच हजार केन्द्रीय सदस्य बनाएर पार्टीचलाएको देखेका एमालेले पार्टीको अध्यक्ष दाहाललाई कसरी दिने, त्यो समस्या भएको छ।

४. दाहालले बाह्य शक्तिले बारम्बार आफूलाई पाँच वर्ष प्रधानमन्त्री बन्न आग्रह गरिएको कुरा झिकेर बागेनि· गरेता पनि एमालेले सम्पूर्ण अधिकार दिएर उनलाई अध्यक्ष बनाउन चाहेको छैन। एमालेले अध्यक्ष मण्डल बनाएर पार्टीचलाउने या सह-अध्यक्ष या अध्यक्ष र कार्यकारी अध्यक्षको प्रावधान अघि सारेको बुझ्नमा आएको छ।

५. जति धेरै एकता वार्ता लम्बिएको छ, उति एमालेका नेताहरुले सोच्ने र विचार-विमर्श गर्ने अवसर पाएका छन् र उनीहरुको स्वरमा कठोरपना आउन थालेको छ। तर उता माओवादी केन्द्रमा भने पहिलेको जस्तो जोश र उत्साह देखिन छाडेको छ। पदहरु एमालेले दिने र उनीहरुले लिने जस्तो स्थिति आएकोमा उनीहरु अलि खिन्न हुन थालेका छन्।

६. अकोर्तिर गोपाल किराँती, लोकेन्द्र विष्टहरु एकता गर्न नहुनेमा अडिग छन्। कथंकदाचित् एकता भएमा उनीहरुले यही पार्टीलार्इ च्यापेर बस्ने अवस्था आउन पनि सक्छ। यही पार्टीलार्इ च्यापेर बस्नेहरुको संख्या कति पुग्छन्, त्यसको हिसाब-किताब पनि गरिँदैछ। त्यसैले यो एकता प्रयास फलामको च्यूरा सरह हुन सक्ने सम्भावना बढेको छ।

७. सरकार गठन भन्दा अगाडि एकता गर्नु उनीहरुको प्रतिबद्धता छ तर एकता प्रयासले भने समय धेरै लिँदैछ। प्रधानमन्त्री देउवाले सत्ता लम्ब्याएकाले केही राहत पनि मिलेको छ। प्रधानमन्त्रीलाई गाली गर्दै एकता प्रयास गर्न पाइएको छ। त्यो प्रयास लम्बिएकोले कार्यकर्ताहरु र सर्वसाधारणमा जुन उत्साह देखिएको थियो, त्यसमा ह्रास आउन पनि थालेको छ।