राष्ट्रिय सभाको निर्वाचन

१. नयाँ संविधानले व्यवस्था गरेको संसदको दुर्इ अंगमध्ये प्रतिनिधि सभाको निर्वाचन केही समय पहिले सम्पन्न भइसकेको छ भने अको अंग राष्ट्रिय सभाको निर्वाचन आज सम्पन्न हुन गइरहेको छ। राष्ट्रिय सभाको निर्वाचन प्रतिनिधि सभाका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु र नगर पालिकाका प्रमुख र उपप्रमुख लगायत गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले गर्ने प्रावधान छ।

२. राष्ट्रिय सभालाई माथिल्लो सभा पनि भनिन्छ। माथिल्लो सभालाई कुनै देशमा राज्य सभा भनिन्छ भने कुनैमा सिनेट भन्ने गरिन्छ। कतै हाउस अफ लर्डस् पनि भन्ने गरिन्छ। २०१५ सालमा निर्मित हाम्रो देशको संविधानले महासभा भनेको थियो भने २०४७ सालको संविधानले राष्ट्रिय सभा भन्ने गरेको थियो।

३. संसदीय व्यवस्था पनि कतै दुर्इ सदनात्मक गरिएको हुन्छ भने कतै एक सदनात्मक हुन्छ। नेपालमा धेरै पटक दुर्इ सदनात्मक गर्ने गरिएको छ। दुर्इ सदनात्मक पद्धतिमा कार्यविधि लामो हुन्छ र लाग्छ। तर पनि दुर्इ सदनात्मक पद्धतिमा विधेयकहरु परिपक्क भएर पारित हुन्छन् भन्ने गरिन्छ।

४. राष्ट्रिय सभामा अर्थात् माथिल्लो सदनमा जनजीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका, अनुभवी एवम् प्रबुद्ध व्यक्तिहरुलाई लग्ने चलन छ। कहिँकतै निर्वाचन लड्न नसक्ने र निर्वाचनले छोडेका राष्ट्रिय स्तरका व्यक्तिहरुलाई निर्वाचन एवम् मनोनित गरेर लग्न पनि गरिन्छ।

५. राष्ट्रिय सभामा त्यस्ता प्रबुद्ध व्यक्तिहरु हुने भएकाले यसको निर्णय संयमित, सन्तुलित र बुद्धिमत्ता किसिमले हुने गर्दछ। नेपालकै इतिहासमा पनि पटक-पटक यस्तो देखिएको छ। एक पटक प्रतिनिधि सभाले सर्वसम्मतिबाट पारित गरेको नागरिकता सम्बन्धी विधेयक ज्यादै विवादास्पद भयो। प्रतिनिधि सभाले त्यसरी पारित गरेको विधेयकलाई राष्ट्रिय सभाले रोकेकोमा राष्ट्रले नै सन्तोषको स्वास फेरेको थियो।

६. त्यो घटनाले राष्ट्रिय सभामा खारिएका, अनुभवी एवम् कहिलेकाहीँ राजनीतिबाट माथि उठेर निर्णय गर्न सक्ने व्यक्तिको आवश्यकता भएको औंल्याउने गरेको छ। इतिहासको त्यो कुरालाई बेवास्ता गरी अहिले राष्ट्रिय सभामा राजनीतिक पार्टीहरूले आफनै नेताहरु र कार्यकर्ताहरुलाई उम्मेदवार बनाएका छन्।

७. हाम्रो राष्ट्रिय सभामा समावेशी र समानुपातिकबाट पनि जाने व्यवस्था गरेको छ। जो जहाँ जसरी गए पनि राष्ट्रिय सभाका सदस्यहरुले विश्वव्यापी आफ्नो मूल्य र मान्यतालाई अपनाउनु आवश्यक छ। अमेरिकामा सिनेटको महत्व अर्कै हुन्छ। बेलायतमा हाउस अफ लर्डस्लाई सम्मानको दृष्टिले हेर्ने गरिन्छ यी सबै दृष्टिले पनि आजको चुनावको आफ्नै महत्व छ। यो चुनाव सफलताका साथ सम्पन्न होस्, हाम्रो यही कामना छ।