राष्ट्रपतिको युर्एइ भ्रमण

१. राष्ट्रपति विद्यादेवी भण्डारी युनाइटेड अरब इमिरेट्स (यु.र्ए.इ.) को औपचारिक भ्रमणको लागि सोमवार अपरान्ह त्यसतर्फ प्रस्थान गरेकी छिन्। राष्ट्रपति भण्डारीको यो औपचारिक भ्रमण पाँच दिनको हुने जनाइएको छ। राष्ट्रपतिको यो भ्रमणको कार्यक्रम आइतवार मात्र सार्वजनिक गरिएको थियो।

२. यु.ए.र्इ.सँग नेपालको राम्रो सम्बन्ध छ। यु.ए.र्इ.मा नेपालीहरुको संख्या धेरै छ। त्यस दृष्टिमा राष्ट्रपतिको यो भ्रमणको महत्व छ। राष्ट्रपतिको भ्रमणपछि त्यहाँका नेपालीहरुको समस्या समाधानमा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यहाँ राष्ट्रपतिले नेपालीहरुलाई भेट्ने कार्यक्रम पनि राखिएको छ।

३. राष्ट्रपतिको यो यु.ए.र्इ. भ्रमण विगतका अन्य भ्रमणहरु भन्दा बेग्लै र छुट्टै भएको छ। उनको यो भ्रमण केही हतारमा निर्णय गरेजस्तै भएको छ। उनको भ्रमणको कार्यक्रमबारे एकदिन अघि मात्र सार्वजनिक गरिएको छ। त्यस अघि यस भ्रमणबारे खास चर्चा भएको थिएन।

४. यो भ्रमण निर्वाचनको पूर्व सन्ध्यामा भएको छ। निर्वाचनको यस महत्वपूर्ण घडीमा राष्ट्रपतिले देश बाहिर केही दिन बिताउनु आफैमा अर्थपूर्ण कुरा भएको छ। त्यसैले यो भ्रमण विवादास्पद पनि ठानिएको छ। प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेको शेरबहादुर देउवाले भ्रमणमा नजान सुझाव दिएको कुरा पनि बाहिर आएको छ।

५. प्रधानमन्त्री देउवाले चुनाव नजिक आएको र खाडी संकटको बेला जानु ठीक नहुने सुझाव दिएका थिए। परराष्ट्र मन्त्रालयले पनि भ्रमणको सम्बन्धमा खास तैयारी गरेको थिएन। तैपनि राष्ट्रपतिले य.ूए.र्इ. भ्रमणको निर्णय गरेकी थिइन्।

६. उता खाडीको अर्को देश कतारले यस भ्रमणका सम्बन्धमा असन्तुष्टी जनाएको समाचार पनि बाहिर आएको छ। कतारले आफूमाथि यु ए.र्इ.ले नाकाबन्दी जारी राखेको बेला यु.ए.र्इ. जानु तथा आफूले राष्ट्रपतिलाई पहिलेदेखि दिएको निमन्त्रणामा आफ्नो देश नआउनुलाई असन्तुष्टिको विषय बनाएको छ।

७. राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यो संसदको निर्वाचन पछि समाप्त हुँदैछ। राष्ट्रपति भएको बेला केही देश घुम्ने इच्छा हुनु स्वभाविक हो। त्यसैले पनि उनले यो भ्रमणको तैयारीको लागि भनेको हुनुपर्दछ। तर राष्ट्रपतिको भ्रमणको सम्बन्धमा जे जसरी विवादास्पद कुरा बाहिर आएको छ, यसले कस्तो कूटनैतिक प्रभाव सिर्जना होला अहिल्यै भन्न नसकिए पनि सकारात्मक परिणामको आशा भने गर्नु नै पर्दछ ।