राष्ट्रपतिको चिन्ता

१. एमालेका पूर्व महासचिव तथा जनताको बहुदलीय जनवादको सिद्धान्तकारका रूपमा लोकप्रिय भएका मदन भण्डारीको रहस्यमयी दुर्घटनाबाट मृत्यु भएको सम्बन्धमा बराबर प्रश्न उठ्ने गरेको छ। तै पनि सरकारले उच्च स्तरीय न्यायिक आयोग वा त्यस्तै केही गठन गरेर रहस्यमयी दुर्घटनाको सत्यतथ्य पत्ता लगाउने प्रयास गरेको छैन।

२. लोकप्रिय नेता भण्डारीको २०५० साल जेठ ३ गते पोखराबाट चितवन जाँदै गरेको उनी चढेको जीप दासढु·ामा पुग्दा त्यहीबाट त्रिशूली नदीमा खसेको थियो। त्यस दुर्घटनामा उनीसँगै उनका निकटतम सहयोगी तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रतिको पनि निधन भएको थियो। जीपका चालक भने जीवितै अवतरण गरेका थिए।

३. त्यो रहस्यमयी दुर्घटना त्यसबेलाको सर्वथा चर्चित विषय भएको थियो। एमालेले ठूलो आन्दोलन पनि गर्‍यो। त्यो दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन भनेर एमाले पार्टीले, नागरिक समाजले र सरकारको तर्फबाट पनि समितिहरु गठन गरी खूव सोधखोज गरिएको थियो। सोधखोज गर्नेमध्ये केहीले आफूले हत्यारा पत्ता लगाएको उद्घोष पनि गरेका थिए।

४. त्यसबेला एमाले सरकारमा आएपछि उच्च स्तरीय न्यायिक आयोग गठन गर्ने कुरा एमालेका नेताहरुले पटक-पटक भन्ने गरेका थिए। सर्वसाधारण जनताले पनि त्यसको अपेक्षा गरेका थिए। त्यसपछि पटक-पटक एमालेका नेताहरुको नेतृत्वमा सरकार गठन भए, तर कुनै सरकारले पनि त्यतातिर ध्यान दिएको देखिएन।

५. राष्ट्रपति विद्या भण्डारीले शुक्रवार मोरङको उर्लावारी-३ मा निर्मित मदन भण्डारी स्मृति संग्रहालयको उद्घाटन गर्ने क्रममा उनले चिन्तित भएर त्यो कुरा कोट्याइन्। उनले आफ्नो संवोधनको क्रममा रहस्यमयी दासढुङ्गा दुर्घटनाको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिइन्। उनको त्यो अभिव्यक्तिले ओली सरकारमाथि एउटा दायित्व थप भएको छ।

६. मदन भण्डारीकी धर्मपत्नी विद्या भण्डारी आफै राष्ट्रपति भएको बेला उनीबाट त्यस्तो छानविनको कुरा ल्याउनु ठूलो कुरा हो। त्यसमा पनि अहिले संसदमा दुर्इ तिहाई भन्दा बढी समर्थन पाएको शक्तिशाली ओली प्रधानमन्त्री भएको बेला त्यो विषयलाई एउटा निचोडमा पुर्‍याउनु पर्दछ। अहिले पनि निष्पक्ष छानविन भएन भने कहिले होला ?

७. त्यसबेला पार्टीको तर्फबाट छानविन गर्ने क्रममा प्रधानमन्त्री ओली आफै संलग्न थिए। उनलाई त्यस विषयमा धेरै कुरा थाहा छ। जस्तोसुकै उच्चस्तरीय छानविन समिति आयोग वा जे गठन गरे पनि सरकार आफैले गर्ने हो। त्यसमा बाधा अवरोध कहिँकतैबाट हुने कुरै छैन। सरकार यसमा गम्भीर हुनु पर्दछ र सत्य तथ्य छिटो पत्ता लगाएर वषौर्ंदेखि त्यसै रहेको यस विषयलाई एउटा किनारा लगाउनु पर्दछ । ताकि राष्ट्रपति भण्डारी या अरु कसैले यस विषयमा टिप्पणी गरेर सरकारको सामु औंला ठड्याउनु पर्ने अवस्था नआओस्।