रामहरि जोशीको निधन

१. नेपाली काङ्ग्रेसका मूल्य र मान्यतामा अडिग रहेका पुरानो पुस्ताका नेता रामहरि जोशीको गत बिहीवार काठमाडौंको ग्राण्डी अस्पतालमा ९३ वर्षको उमेरमा निधन भयो। मृगौला र मधुमेहबाट पीडित उनी दुर्इ हप्ता पहिले वाथरुममा लडेर गम्भीर घाइते भएका थिए। उनको पार्थिव शरीरलाई केही समय नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा राखी वागमतीमा अन्त्येष्टी गरिएको थियो।

२. सर्लाही जिल्लामा जन्मेर हुकेका उनी उच्च अध्ययनका लागि भारत गएका थिए। भारतमा रहँदा उनी राजनीतिमा संलग्न भए। नेपाली काङ्ग्रेसको गठनमा उनको पनि योगदान रहेको थियो। त्यसैले उनले काङ्ग्रेसका संस्थापकका रुपमा सम्मान गर्ने गरिएको थियो। २००७ सालको क्रान्तिमा उनले पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

३. विद्यार्थी अवस्थादेखि नै उनी भारतका महात्मा गान्धीबाट प्रभावित थिए। सादा जीवन उच्च विचार राख्ने उनलाई राजनीतिमा गान्धीवादी भन्ने गरिन्थ्यो। सधैं सिद्धान्त र आदर्शमा रहेकाले अन्य पार्टीका नेताहरु माझ पनि उनी उत्तिकै सम्मानित थिए। वी.पी. कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई उनी खूब मान्थे।

४. उनले शिक्षण पेशा पनि अपनाएका थिए। शिक्षक भएर पञ्चायत कालमा प्रशिक्षणका लागि पोखरा आउँदा उनले पोखराको राजनीतिको कमी कमजोरी औंल्याएका थिए। उनले व्यवहारिक राजनीति के-कसरी गर्ने त्यस सम्बन्धमा पोखराका काङ्ग्रेसहरुलाई निदेशन दिएका थिए। जुन कुरा पुराना काङ्ग्रेसहरुले आज पनि सम्झने गर्दछन्।

५. प्रजातन्त्रको पुनस्र्थापना पछि भएको पहिलो र दोस्रो निर्वाचनमा उनले आफ्नो जिल्ला सर्लाहीबाट चुनाव जितेका थिए। उनी शिक्षा र पर्यटन मन्त्री पनि भएका थिए। उनी मन्त्री भएको बेलामा पनि उनले आफ्नो आदर्श कहिले भुलेनन् । भट्टराईले झैं उनले पनि जसरी सिंहदरबार प्रवेश गरेका थिए, त्यसरी नै बाहिर निस्केका थिए।

६. उनले आफ्नो जीवनीबाट पछिको पुस्ताले केही सिकोस् भनेर आत्मकथा लेखेका छन्। उनले लेखेका “नेपाली काङ्ग्रेससँग सिकिएका सम्झना” र “अँध्यारोबाट उज्यालो तर्फ” किताब राजनीति गर्नेहरुका लागि उपयोगी मानिन्छन्। उनले कविता आदि पनि लेख्थे। व्यङ्ग्य वाण प्रहार गर्नमा उनी माहिर मानिन्थे राजनीति गर्दा गर्दै उनले भट्टराईले झैं विवाह गर्ने फुसत पनि पाएनन्। उनी अविवाहित नै रहे। तर त्यसको पश्चताप उनले कहिल्यै गरेनन्। सधैं हाँस खेल गर्नुपर्ने, सहयोगी भावना भएका उनले खद्दरको कपडा लगाउनुलाई आफ्नो विशेषता सम्झन्थे। उनी काङ्ग्रेसका एक उदाहरण थिए। मूल्य, मान्यता र निष्ठाको राजनीतिमा खडेरी लागेको बेला एक उदाहरणीय व्यक्ति रामहरि जोशीको निधन हुनु यस क्षेत्रमा ठूलो क्षति हुनु हो।