राजसी चाहना

१. हाम्रो देशबाट राजतन्त्रको अन्त भएको एक दशक बितेको छ। एक दशक बितेको भए पनि त्यसबेलाका राजाको शान र महत्व अझै समाजमा देखिन्छ। उनले देशको यताउता भ्रमण गर्दा अहिले पनि मानिसहरु उनलाई हेर्न र भेट्न लालयित भएका पाइन्छन्। त्यसरी भेला भएकाहरुले उनको पक्षमा नारा लाउने पनि गरेका छन्।

२. राजतन्त्र हटेर पनि राजाको महत्व समाजमा रहिरहनु एउटा विडम्बना हो। सर्वसाधारणमा त्यसको प्रभाव रहिरहनुलाई हामी अन्यथा मान्दैनौं। तर हाम्रा नेताहरुमा पनि त्यसको प्रभाव प्रष्ट देखिन्छ। नेताहरुमा प्रभाव देखिने मात्र होइन, उनीहरु पनि मौका पाए राजा जस्तै हुन चाहेका देखिन्छन्।

३. सञ्चार माध्यमहरुमा एउटा राजा गए, सयौं राजा भए भन्ने पनि गरिन्छ। नेताहरुको परिवर्तित जीवनशैली, उनीहरुको परिवारको भाषा र कार्यकर्ताहरुले उनीहरुको समक्ष गर्ने व्यवहार आदिले जताततै राजतन्त्रको झल्को दिने गर्दछन्। शीर्ष नेताहरु ज्यादै माथि पुगे भने कार्यकर्ताहरु बाउन्ने भएका छन्।

४. एनप्याब्सन कास्कीद्वारा आयोजित उद्घाटन समारोह पूर्व मंगलबारका दिन पोखरा रंगशालामा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई गरिएको स्वागत कार्यक्रमले पनि त्यस्तै झल्को दिन्थ्यो। जसको तस्वीर पत्रपत्रिकाले पनि प्रचार-प्रसार गरेका थिए।

५. मन्त्री विश्वकर्मा निर्धारित समयभन्दा डेढ घण्टा ढिलो पुग्नु, उनी आएको खबर प्रसारण हुनासाथ सांस्कृतिक पहिरनमा सजिएका किशोरीहरु जर्‍याकजुरुक उठ्नु, खाली खुट्टैमा लाम बसी मन्त्रीको स्वागत गर्नु र मन्त्री मुसुमुसु हास्दै सबैको अभिवादन ग्रहण गर्दै मञ्चमा विराजमान हुनुले पञ्चायत कै झझल्को दिन्थ्यो।

६. केही दिन पहिले काठमाडौंमा पनि यस्तै झल्को देखिएको थियो। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएको दिन काठमाडौंका भित्ताहरु र बिजुलीका पोलहरुमा प्रधानमन्त्री ओलीको ठूलो साइजको रंगीत पोष्टरहरु देखिएको थियो। त्यसले पनि राजाको जन्मदिन आदिको झल्को दिएको थियो।

७. राजाको विदाइ गरेर पनि राजतन्त्रको झल्को समाजमा रहिरहनु, नेताहरु मौका पाउना साथ राजाको जस्तै शान र मान देखाउन खोज्नु र कार्यकर्ताहरुले पनि चाकडी प्रदर्शन गर्ने क्रममा नेताहरुलाई राजालाई जस्तो स्वागत सत्कार गर्ने गरिएका धेरै घटना छन्। यो घटनाक्रम बढ्दो छ। यसले हामीलाई कुन दिशातिर डोर्‍याउन खोजेको छ, त्यो बुझ्नुपर्ने कुरा भएको छ।