राजनीतिज्ञ रेग्मी रहेनन्

१. २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिष्ट पार्टीकाट निर्वाचित सांसद एवम् पञ्चायत कालमा गाउँ र्फक राष्ट्रिय अभियानका अध्यक्ष समेत रहेका पाल्पा तानसेनका कमलराज रेग्मीको बिहीबार काठमाडौंमा निधन भयो। उनी केही वर्षदेखि विभिन्न रोगबाट पीडित थिए। राजनीतिका चतुर खेलाडी मानिने उनी ९२ वर्षका थिए।

२. २०१७ सालमा राजाले कू गरेपछि उनी करिब चार वर्ष जेल पनि परे। जेलबाट छुटेपछि उनले आफ्ना साथीहरुका साथ गोप्य परामर्श गरे। उनीहरुले आफूहरुले मान्ने एक दलीय कम्युनिष्ट शासन र पञ्चायतको निर्दलीय शासन व्यवस्थाको तुलनात्मक अध्ययन गरे। उनीहरुले पञ्चायतको भित्र प्रवेश गरेर एक दलीय सिद्धान्त फैलाउन र संगठन गर्न सकिन्छ भन्ने निचोड निकालेर एउटा रणनीति बनाए र पञ्चायतमा प्रवेश गरे।

३. कमलराज रेग्मीले पञ्चायत प्रवेश गरेर काँग्रेसको घोर विरोध गरी दरबारको विश्वास पात्र बने। उनी गाउँ र्फक राष्ट्रिय अभियानको सदस्य र अध्यक्ष भए। उनले गाउँ र्फकलाई अरु शक्तिशाली बनाए। चुनाव भयो भने प्रजातन्त्र आउँछ भन्दै चुनावलाई सीमित घेराभित्र गर्दै लगेर सर्वसम्मतिमा पुर्‍याए। सर्वसम्मतिको आधारमा चुनाव भएपछि वामपन्थी पृष्ठभूमि भएकाहरुलाई सजिलै पञ्चायतको माथिल्लो पदहरुमा पुर्‍याए।

४. पञ्चायत र प्रशासनमा वामपन्थी पृष्ठभूमिकाहरुको प्रभाव बढेपछि बाहिर कम्युनिष्ट सिद्धान्तको प्रचार गर्न र गोप्य संगठन गर्न सजिलो भयो। पञ्चायत विरोधी एउटै गतिविधिमा लागेका कार्यकर्ता र नेताहरुमध्ये काँग्रेस पक्षकाले धेरै यातना र लामो समय जेल बस्नुपर्ने भयो भने कम्युनिष्टतिरका भएमा भाग्न पाउने र जेल परेमा छिटो छुट्ने भयो।

५. यस्तो स्थितिले पञ्चायत मक्किदै थियो भने कम्युनिष्ट संगठन भित्रभित्रै फक्रिदै थियो। कम्युनिजम बढ्नुको मतलब राजतन्त्रको आयु घट्नु हो। यी सबै कुरालाई दृष्टिगत गरी राजालाई सजग पार्न वी.पी. ले अडिट फर्मूला अन्तर्गत कम्युनिष्टहरु सक्रिय भएका उल्लेख गरेका थिए। वी.पी. को त्यो अभिव्यक्तिले राजनीतिमा केही तर· ल्यायो।

६. त्यसबेला कमलराज रेग्मीहरुलाई दरबार र पञ्चायतलाई अरु विश्वास पार्नुपर्ने अवस्था आयो। उनीहरुले पञ्चायतको पक्षमा अर्थात् आफू खाटी पञ्च भएको अभिव्यक्ति दिए। त्यसै क्रममा उनले पोखरामा भएको भेलामा पञ्चायतको अन्त हुन्छ भन्नु स्यालको सिङ आउँछ भने झैं हो भनेर कडा भाषण गरेका थिए। जसलाई अखबारहरुले ठूल्ठूला अक्षरले छापेका थिए।

७. जयतु संस्कृतम्बाट राजनीतिमा लागेका उनी साहित्यकार पनि हुन्। पञ्चायतमा लागेता पनि आफ्ना कम्युनिष्ट साथीहरु माझ उनले आत्मा बेचेको छैन भन्थे। पञ्चायत ओरोलो लागेपछि उनले त्यसलाई उठाउन कहिले खोजेनन्। पञ्चायतको अन्त भएपछि उनी निष्कृय प्रायः भएर बसे। तर पञ्च भनेर भनेनन्। पञ्चायत अवधिभरि कम्युनिष्ट संगठन फलाउन फुलाउन उनको महत्वपूर्ण भूमिका थियो। पुराना वामपन्थीहरुले उनको त्यो योगदानलाई महत्वका साथ हेरेका छन्।