रमाइलो तिहार

१. रमाइलो एवम् लोकप्रिय तिहार पर्वको दुर्इ दिन बितेको छ। यी दुर्इ दिनमा नेपालीहरुको काग र कुकुरको पूजा गरेर प्राणीहरुप्रतिको आफ्नो माया, ममता र सम्मान देखाएका छन् भने अब गाई पूजा र स्वयं मान्छे पूजाको दिन आउँदैछन्। आज धनधान्यका देवी लक्ष्मीको पूजा गरिँदैछ भने लक्ष्मीको प्रतीक गाईको पूजा बिहान गर्ने गरिन्छ।

२. म्ह पूजा विशेषतः नेवारहरुले मनाउने गर्दछन्। मण्डप बनाएर आफ्नो शरीर पूजा गर्नु नेवारहरुको विशेष पूजा हो। यही दिन नेपाल सम्वतका नयाँ दिन पनि हो। नेपाल संवत् ११३८ हामीबाट विदा भएर जाँदैछ भने ११३९ नयाँ वर्ष आउँदैछ। त्यसैले पनि म्ह पूजा र नयाँ संवत्को नयाँ दिनको ठूलो महत्व छ।

३. नेपाल संवत् नेपाल राष्ट्रको नामबाट राखिएको संवत् हो। यसको पूर्णताका रुपमा शंखधर साख्वा मानिन्छ। लामो समय उपेक्षित भएर रहेको यो संवतलाई राष्ट्रिय मान्यता दिलाउन नेवारहरुले ठूलो प्रयास गरेका छन्। त्यही अथक प्रयासका कारण नेपाल संवत्ले राष्ट्रिय मान्यताप्राप्त गर्न सक्यो भने यसको प्रणेता शंखधर साख्वा राष्ट्रिय विभूति घोषणा घोषित भए।

४. नेपाल संवत्लाई कतिपयले नेवारहरुको संवत् भन्ने गरिएको थियो भने अब यो नेवारहरुको मात्र संवत् नभएर नेपाल राष्ट्रकै संवत् भएको छ। यसले राष्ट्रिय मान्यता पाएअनुसार “न्हू दैया भिन्तुना” अर्थात् नयाँ वर्षको शुभकामना समारोहलाई नेवार समूहमा मात्र सीमित नगरी अन्य सबै जातजातिलाई यसमा सामेल गर्नुपर्दछ।

५. लक्ष्मीपूजाको दिन नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती हो। साहित्यकारहरुले यस दिनलाई लक्ष्मी जयन्तीको रुपमा मान्ने गर्दछन्। देवकोटाले नेपाली साहित्यको भण्डार धेरै महत्वपूर्ण ग्रन्थ थप गरेका छन्। उनको कलम गद्य, पद्य, नाटक लगायतका सबै विधामा उत्तिकै सशक्त रुपले चल्दथ्यो।

६. भाइपूजा तिहारको अर्को महत्वपूर्ण पर्व हो। दिदीहरुले आफ्ना भाइलाई, भाइको सुख, सुस्वास्थ्य, आयु आरोग्यको लागि कामना गरी पूजा गर्ने गर्दछन्। भाइहरुले पनि आफ्ना दिदीहरुलाई उत्तिकै आदर र सम्मान गरी व्यवहार गर्दा दिदी र भाइको सम्बन्ध सधैं अटुट र अविष्मरणीय रहिरहने गर्दछ। यसले समाजमा नैतिकता र मूल्य मान्यतालाई प्रस्फुरण गर्न पनि सघाउने गर्दछ।

७. तिहारमा घर-घरमा दीपावली मनाउँदा बजार र बस्तीको शोभा नै अर्कै देखिन्छ। त्यसमा पनि सयपत्री फूलको माला लगाएर तथा मिष्ठान्न भोजन गरेर साथीभाइसँग यत्रतत्र घुम्नुको स्वाद नै अर्कै हुन्छ। यी सबै तिहारको सकारात्मक र राम्रा पक्ष हुन्। यसका केही नराम्रा पक्ष पनि छन्। ती नराम्रा पक्षहरुलाई अर्थात् यस अवसरमा जुवातास खेल्ने लगायत कार्यलाई हामीले तिलाञ्जली दिन सक्नु पर्दछ। नेपालीहरुले धेरै यस्ता दुर्र्गुणहरु हटाइसकेका छन्। अझ पनि त्यसका केही अवशेष बाँकी छन्। तिनीहरुलाई पनि हटाउन सक्नु पर्दछ। त्यसो गर्न सकेमा तिहार मानेको सार्थकता रहनेछ।