यौन हिंसा र हाम्रो समाज

१. देशमा महिला माथि हुने यौन हिंसाका घटना बढ्दै गएको छ। यौन हिंसाको घटना यत्ति बढेको छ कि एउटा घटनाको अपराधी पक्रन सकेको छैन, अर्को घटना हुने गरेको छ। फेरि यो यौन हिंसाका घटना एक ठाउँमा एक पटक होइन, जताततै भएको छ र कहि कतै त दोहोर्‍याएर पनि भएको छ।

२. कञ्चनपुरका विद्यार्थी निर्मला पन्तको बलात्कार पछि फेरि त्यहाँ अर्को बलात्कारको घटना भएको छ। निर्मला पन्तको हत्या गरिएको एक महिना बितेको छ। त्यहाँ त्यो हत्याको अपराधीलाई पक्रनु पर्दछ भनी निस्केको जुलुशमा गोली चल्यो र एक किशोरको मृत्यु भएको छ।

३. त्यहाँ केही दिन कफ्र्यू पनि लागेको थियो। त्यो यत्ति ठूलो काण्ड भयो कि त्यहाँका सिडिओ फेरिए। प्रहरीको हाकिम फेरिए। छानविनका लागि छुट्टै समिति गठन गरिएको छ। तैपनि यौन पिपासु हत्यारा पत्ता लागेको छैन। त्यहाँ त्यस्तो भएकै अवस्थामा पोखरामा एक विद्यार्थी पुष्पा के.सी.को संदिग्ध अवस्थामा मृत्यु भएको छ। यौन हिंसाका घटना अन्त पनि भएका छन्।

४. निर्मला पन्तका सहपाठीहरु जानकी भट्ट, गीता जोशी, लक्ष्मी बडू र पूजा चन्दले प्रधानमन्त्री के.पी. ओलीलाई पत्र लेखेर दोषीलाई छिटो भन्दा छिटो पत्ता लगाएर कडा सजायको माग गरेका छन्। अवोध बालिकाहरुको त्यो पत्रले धेरैलाई संवेदनशील बनाएको छ र एक महिना विताएर पनि अपराधी पत्ता लगाउन नसकेकोमा सरकारप्रति रुष्ट भएका छन्।

५. पत्र पत्रिकाहरुमा यौन हिंसा सम्बन्धी हृदय विदारक लेखहरु, कार्टुनहरु प्लेकार्डहरु छापिएका छन्। जसले वर्तमान अवस्थाको महिलाको चित्रण गरिएको छ। “बाबा-मामु जति खर्च लागे पनि मेरो लि· परिवर्तन गरिदिनुस्, छोरी भएर बाँच्न गाह्रो भयो” भन्ने त्यो करुण क्रन्दनले कसको हृदय छिया छिया नहोला।

६. यस्तो स्थिति आउनुमा कसैले कानूनको कमजोरी भन्दै छन् भने कसैले हाम्रो पाठ्यपुस्तक तिर देखाउने गरेका छन्। न्याय निसाफ राम्ररी नहुनु, न्यायालयले दण्डित घोषणा गर्दा पनि सरकारले त्यस्तालाई छुट दिनु, ठूला वडाले गरेको अपराध क्षम्य हुनु आदि इत्यादि कारणले अपराध मौलाउँदै गएको छ। तैपनि सरकार गम्भीर छैन।

७. यौन हिंसा सामाजिक अपराध हो। यो हाम्रो सभ्यताको कलंक हो। यस्तो कलंकको टीका कसैले लगाउनु हुँदैन। यस्तो कलंकको टीका लगाउनेलाई भोलिको पुस्ताले पनि छि छि र दूर दूर गर्न सक्छ। यो एक गम्भीर कुरा हो। यस्तो गम्भीरतालाई मनन गरेर त्यो घृणित कार्यबाट टाढा रहनु आवश्यक छ।