यो अन्यौलको स्थिति

१. देश अहिले अन्यौलको स्थितिबाट गुज्रिरहेको छ।  कहाँ कहिले के हुन्छ, भन्न सकिने स्थिति छैन। नेताहरुको बोली कठोर बन्दै गएको छ। एकले अकोर्लाई हिलो छ्याप्ने गरिएको छ। खास गरेर सत्तारुढ पार्टीनेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका बीच चर्को शब्दवाण प्रहार भइरहेका छन्।

२. ती दुवै पार्टीका नेताहरु पहिले पनि त्यस्तै गर्दथे भनेर त्यसलाई सामान्यीकरण गर्न सकिन्छ। तर नेपाली जनताले एक जना अग्रज नागरिकका रुपमा मानिएका डा. गोविन्द के.सी.प्रति पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले ज्यादै तल्लो स्तरमा ओर्लेर गालीगलौज गरेकोप्रति भने आर्श्चर्य व्यक्त गर्दैछन्।

३. डा. के.सी. निश्चय नै सम्मानित र प्रतिष्ठित व्यक्ति हुन्। उनले जे जस्तो गरेका छन्, त्यो आफ्नो लागि होइन, देश र समाजको लागि हो। फेरि उनले नेकपाको सरकार भएको बेला मात्र त्यो कदम उठाएका होइनन्। विगतमा विभिन्न पार्टीको सरकार भएको बेलामा उठाउँदै आएकै कुरा हो।

४. विगतमा कुनै पनि पार्टीको सरकारले र पार्टीका नेताहरुले उनलाई यसपटकको जस्तो निम्नस्तरमा ओर्लेर गाली गलौज गरेका थिएनन्। यस पटक उनलाई “एकजना कर्मचारीले गरेको अनशन” भनेर उनको अनशनको अवमूल्यन गर्न खोजियो। कसैले जागिर छोडेर राजनीतिमा आउन चुनौती दिए। कसैले अर्काको स्वार्थमा गरिएको अनशन पनि भने।

५. उनीमाथि प्रहार गरिएका ती दुर्र्व्यवहारका शब्दहरुले पञ्चायत काल सम्झायो। त्यसबेला पनि विरोधीलाई त्यसै गरी पातालमा खसाल्ने ‘अन्तर्राष्ट्रिय तत्व’ भन्ने गरिन्थ्यो। र पञ्चहरु एकै स्वरले स्यालले हुँइया गरी कराएझैं सबै एक साथ कराउँदथे।

६. त्यसरी सत्ता पक्षले निन्दा र आलोचना गरे पनि त्यो व्यक्तिको समाजमा मान मर्यादा र प्रतिष्ठामा आँच पुग्दैनथ्यो। बरु उनको उचाई अरु बढेको प्रतित हुन्थ्यो। डा. के.सी.को अवस्था पनि त्यस्तै भएको छ। के.सी. को ज्यान जति खतरामा पुगेको छ उति चिन्ता प्रकट गर्नेहरुको संख्या बढ्दै छ। समर्थकहरु बढ्दै छन्।

७. तर यो वास्तविकता प्रधानमन्त्रीले नबुझे झैं गरिरहेका छन्। जसले गर्दा सत्तारुढ पार्टीै कतिपय नेताहरुले अप्ठ्यारो मानिरहेका छन्। सत्तारुढ पार्टी’ग अप्रत्यक्ष नजिक भएर काम गरिरहेका मानव अधिकारवादी नेताहरु र नागरिक समाजका अग्रजहरुलाई समेत अप्ठ्यारो भएको छ। यस्तो समस्यामा सधैं सडकमा अग्रपंक्तिमा देखापर्नेहरु अहिले ओझेलमा रहिरहेका छन्। उनीहरुलाई मात्र होइन सबैलाई अप्ठ्यारो भएको छ। यस्तो अप्ठ्यारो गरेर धेरै समय बिताउनु कदापि उचित होइन। यो कुरा प्रधानमन्त्रीलाई सम्झाउनु पर्‍यो र प्रधानमन्त्रीले पनि सम्झनु पर्‍यो। यो अन्यौलको स्थितिलाई अन्त गरी छिटो निकास दिनुपर्‍यो।