मानन्धरको राजीनामा प्रकरण

१. काठमाण्डौँ निर्वाचन क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरको अप्रत्याशित राजीनामाको घोषणा र उनको रानीनामाको कारण खाली भएको सीटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वामदेव गौतमले चुनाव लड्ने तानाबाना जहाँ जसरी बुनियो, त्यसले त्यस पार्टीबृत्तमा ठूलो तरङग उत्पन्न गरेको छ। त्यसले  धेरैलाई आर्श्चर्य चकित पारेको छ।

२. हामीले यसै स्तम्भमा प्रधानमन्त्री तथा त्यस पार्टीका अध्यक्ष के.पी. ओली आफै पनि झस· हुन्छन् होला भनी उल्लेख गरेका थियौँ। किनभने त्यो रानीनामाको घोषणा र त्यसमा नेता गौतमले चुनाव लड्ने कुरा स्वयम् प्रधानमन्त्रीलाई पनि सोधिएको थिएन। त्यो कुरा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता गौतमको आपसी सल्लाहमा मात्र गरिएको थियो।

३. त्यत्ति ठूलो निर्णय ती दुर्इको मन्त्रणाबाट मात्र गरिएकोले त्यसले पार्टीका तर· होइन, सन्देह नै उत्पन्न गरेको छ। भन्न ता अध्यक्ष दाहालले गौतमले चुनाव लड्दिन भनेपछि त्यो लफडा सकियो भनेका छन्। तर त्यो कुरा उनले भने जस्तै त्यत्ति सजिलै सिद्धिने कुरा होइन। यो कुरा कुन रणनीति अन्तर्गत आयो भनी विश्लेषण गर्न थालिएको छ।

४. यो रणनीति एक त प्रधानमन्त्री ओलीको विकल्पमा तैयार गरिएको बुझिन्छ भने अर्को यसले पार्टीको महाधिवेशनलाई लक्षित गरेको हो कि भन्ने देखाउँछ। यो घटनाले दाहाल र गौतमलाई अरु नजिक लैजाने प्रष्ट छ। यसले पार्टीका नयाँ समीकरण निर्माण गर्ने प्रचुर सम्भावना छ। उनीहरु बराबर नजिक भएकै छन्।

५. नेता गौतमको एउटा विशेषता छ। उनी नजिक भए भने अत्यन्त घनिष्ट हुन सक्छन्। एक पटक लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएको बेला उनी उप-प्रधानमन्त्री भए। ती दुइको घनिष्टता उल्लेखनीय थियो। अध्यक्ष दाहालको व्यवहार र प्रवृत्ति तर प्रष्ट नै छ। उनले माओवादी पार्टीका कहिले कसैलाई च्यापे र कहिले डा. भट्टराईलाई अँगाल्ने गरी अध्यक्ष पद सँधै आफ्नो लागि सुरक्षित राखेका थिए।

६.केही समयदेखि एकातिर प्रधानमन्त्री ओलीको असफलता देखिन थालेको छ भने अकोर्तिर उनको महत्वाकांक्षा अरु बढेको छ। वरिष्ठ नेता माधव नेपालले खुलेरै विरोध गरेका छन्। विरोधको स्वर चर्को हुँदै गएको छ। नेताहरुले आ-आफै किसिमले विरोध गर्दैछन् र विकल्प खोज्न थालेका छन्।

७. सांसद मानन्धरको राजीनामाको घोषणा अप्रत्यासित किसिमले भए झै त्यसको अन्त पनि त्यसैगरी गरिएको छ। अध्यक्ष दाहालले गौतमलाई सांसद बनाउने आफ्नो विचारको औचित्य सावित नगरिकनै चुनावको लफडा सकियो भनेका छन्। त्यो भनाई भित्रपनि रहस्य भएको अनुमान गरिएको छ। पार्टीका रहस्य र समीकरण बढ्दै जाने अनुमान गरिएको छ।