महिला सञ्चारकर्मीहरु सगरमाथामा

१. विश्वको सवोर्च्च शिखर सगरमाथामा धेरै मानिसहरु पुगेका छन्। तेञ्जिङ शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि विश्वका साहसी धेरै मानिसले सगरमाथाको शिखरको चुम्बन गरेका छन्। त्यसबेला सगरमाथाको शिखर पुग्नु नै ठूलो कुरा थियो । त्यस पछि त्यहाँ पुगेर पनि एउटा न एउटा रिर्कर्ड राख्ने काम गर्ने गरिएको छ।

२. कसैले वयोवृद्ध भएर सगरमाथा आरोहण गरी रिर्कर्ड राखेका छन् भने कसैले अक्सिजन विना नै सगरमाथाको चुचुरो चुमेेका छन्। कोही त्यो चुचुरोमा धेरै पटक पुगेका छन् भने कोही छोटो समयमा टुप्पामा पुगी रिर्कर्ड राखेका छन्। अब त रिर्कर्ड राख्ने मात्र होइन, रिर्कर्ड तोड्ने काम पनि गर्ने गरिएको छ।

३. सगरमाथा आरोहण गर्नु निश्चय नै साहसिक काम हो। खतरनाक काम हो। त्यसो भएकोले सगरमाथा चढ्ने काममा लोग्ने मानिस मात्र हुने गर्दथे भने जापानकी महिला जुनको तावेइले पहिलो पटक सगरमाथाको शिखर पुगेर रिर्कर्ड राखेकी थिइन्। नेपालकी पासाङ ल्हामु शेर्पाले पनि एउटा रिर्कर्ड राखेकी थिइन्।

४. सगरमाथा आरोहण गर्ने महिलाहरुको संख्या पनि बढ्दै गएको छ। त्यो संख्या बढ्दै गएकोले अब महिला पनि सगरमाथा पुगिन् भन्नु नै ठूलो कुरा भएन। को महिला पुगिन र कस्तो महिला पुगिन भन्न थालिएको छ। महिलाहरुमा पनि त्यसरी पुग्ने प्रतिस्पर्धा बढ्दै गएको छ। के कसरी रिर्कर्ड राख्न सकिन्छ भन्ने सोंच बढ्दै गएको छ।

५. त्यसै क्रममा सञ्चार क्षेत्रमा काम गर्ने महिलाहरुमा पनि त्यो जोश र जाँगर प्रस्फुरण भयो। सधैं अर्काको साहसिक यात्राको वर्ण लेख्ने र समाचार भन्ने गरेका महिला पत्रकारहरु आफै सगरमाथाको आरोहण किन नगर्ने भन्ने भएपछि राष्ट्रिय समाचार समितिमा काम गर्ने रोशा बस्नेतले त्यसको लागि संगठन गर्न लागिन्।

६. सञ्चारकर्मी रोशा बस्नेतको प्रयासले न्यूज ट्वाण्टी फोरमा काम गर्ने प्रियालक्ष्मी कार्की, स्वतन्त्र पत्रकार देउराली चामलिङ, मेघा टेलिभिजनकी कल्पना महर्जन र नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य ५ जनाको टोली मिलेर सगरमाथा आरोहण यात्रामा गएका छन्। पत्रकारकै समूह गरी त्यसरी गएको यो पहिलो पटक हो।

७. सधैं कलम समातेर बस्ने पत्रकारहरु, त्यसमा पनि महिला पत्रकारहरुले त्यसरी सगरमाथा चढ्ने साहसिक काम गर्नु आफैमा अत्यन्त महत्वपूर्ण कुरा हो। नेपाल टेलिभिजनसँग सहकार्य गरेर उनीहरु त्यहाँ गएका छन्। उनीहरुले सगरमाथा चढ्दै गर्दा संगालेका अनुभव र अनुभूतिलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दैछ। हामी यो टोलीको पूर्ण सफलताको लागि मंगलमय शुभकामना व्यक्त गर्दछौँ।