मनु ब्राजाकी पनि रहेनन्

१. नेपाली साहित्य जगतका आशालाग्दा आख्यानकार मनु ब्राजाकीको शुक्रवार ७५ वर्षको उमेरमा काठमाण्डौमा निधन भएको छ । उनी ब्रेन स्ट्रोकबाट पीडित थिए। ब्रेन स्ट्रोकबाट पीडित भएपछि उनको लेखन क्षेत्रमा शिथिलता आएको थियो । तैपनि उनले ढीलो लेखेर भएपनि आफनो लेखकीय धर्म निर्बाह गरेका थिए ।

२. उनले कतै नोकरी पेशा गरेनन् ।उनको पेशा भनेको नै लेखन थियो ।यायावरजस्तो घुम्ने र लेख्ने उनको सौख थियो । अको उनको सोख केही थियो भने त्यो चुरोट अनि रक्सी थियो । उनले चुरोट खाँदै लेख्ने गर्दथे । त्यसलाई उनले शक्तिवर्धक ठान्दथे । तर जब अमेरिकामा औषधोपचारको क्रममा डाक्टरहरुले त्यसको अम्मल नगर भने त्यसबेला देखि उनले त्यो बानी छोडिदिए ।

३. उनी आख्यानकार थिए । उनले नयाँ नयाँ विषयमा कथा लेख्ने गर्दथे । सुरुमा उनी क्रान्तिकारी भावनाका थिए । तर जब उनी प्रौढतातिर ढल्के तव उनले जीवनका सबै विधामा कलम चलाउन थाले । मनोविज्ञानमा आधारित उनका कथा हाम्रै घर वरपरका आफनै छिमेकी र साथीभाइको कथाजस्तै हुने गर्दथे ।

४. उनले आफनो अन्नपूर्णाको भोज भन्ने आख्यानमा आफनै नजिकका राजनीतिक साहित्यकारहरु जस्ले नेपालको राजनीतिक पार्टीहरूको सिद्धान्तका विषयमासमेत लेख्ने गर्दछन् ।मनु ब्राजाकीले तिनीहरुलाई नै लक्षित गरेर एउटा भोजको व्याख्या गरेका छन् । जहाँ वर्गसंर्घर्षदेखि किसान मजदूर र प्रजातन्त्रकोसमेत उच्च छलफल गरिएको त्यस भोजमा  अन्नपूर्णाले खाना नपुगेर भाँडो चाटेको वर्णन गरिएको छ ।

५. वि.सं. २०१९ सालदेखि लेख्न सुरु गरेका उनले तिम्री स्वास्नी र म , पारदर्शी मान्छे ,मनु ब्राजाकीका कथाहरु लगायत आठओटा कृतिहरु प्रकाशित गरेका छन् । उनको योगदान आख्यानमा मात्र हैन गजल विधामा पनि उनी उत्कृष्ट गजलकारका रुपमा चिनिन्छन् । उनले गजल गङ्गा र काँडाका फूलहरु प्रकाशित गरेका छन् ।

६. मनु ब्राजाकीको नामबाट चिनिएका उनको नाम चेतमान सिँ भण्डारी हो । भण्डारी परिवार पोखराबाट जनकपुरतिर गएका थिए । त्यसरी गएतापनि उनले आफनो विद्यालयको पढाइ पोखराकै राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा गरेका थिए । विद्यालयमा छँदा नै उनी बहुप्रतिभाशाली विद्यार्थीका रुपमा चिनिएका थिए । प्रतियोगिताहरुमा उनी पुरष्कृत पनि हुने गर्दथे ।

७. नेपाली साहित्यका चर्चित लेखिका प्रेमा शाहको केही साता पहिले निधन भएको थियो भने अहिले मनु ब्राजाकीको निधन भएको छ । यी दुवै साहित्यकारहरुमा समानता पनि थियो । मनु ब्राजाकीले साहित्यमा आफनो छुट्टै स्थान बनाएका छन् । साहित्यलाई नै जीवन संझने थोरै साहित्यकारमा उनको गणना हुन्छ । उनले साहित्यबाट केही लिने प्रयास गरेनन् । उनले दिने मात्र प्रयास गरे । यसप्रकार नेपाली साहित्यको भण्डार भर्ने काममा उनको योगदान चिरस्मरणीय रहिरहनेछ ।