भ्रामक समाचार र त्यसको परिणाम

१. पाथिभरा अनलाइन डटकमले मंगलबार प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यबारे भ्रामक समाचार प्रसारण गरेपछि त्यसबाट धेरै मानिस स्तब्ध भएका थिए। तर तुरुन्त त्यो समाचार भ्रामक भएको यथार्थ बाहिर आएपछि सबैले सन्तोषको स्वास फेरेका थिए। प्रहरीले त्यस अनलाइनका अध्यक्ष/सञ्चालकलाई पक्रिसकेको समाचार सार्वजनिक भएको छ।

२. हामीकहाँ नयाँ-नयाँ विज्ञानका आविष्कार आउने गरेका छन्। त्यसलाई अधिकांशले प्रयोग पनि गरेका छन्। त्यसरी प्रयोग गरेकाले सूचना र सञ्चारको सम्प्रेषण श्रि्र हुने गरेका छन्। त्यसले गर्दा नेपालीहरुको चेतनाको स्तर बढ्ने गरेको छ। यस्तो हुनु त्यसको सकारात्मक पक्ष हो।

३. तर त्यही सञ्चारका साधनहरुको दुरुपयोग गरियो भने त्यसले के कति हानी पुर्‍याउँछ भन्ने कुरा बराबर बाहिर आउने गरेको छ। हालै प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सम्बन्धमा प्रचार गरिएको भ्रामक समाचारले के कति हानी नोक्सानी पुर्‍यायो भन्ने पनि सर्वविदित भएको छ।

४. यसअघि पनि सञ्चार माध्यममा बराबर भ्रामक समाचार छापिने र प्रचार प्रसार हुने गरिएको हुन्थ्यो। त्यसले विवाद पनि निम्त्याउने गर्दथ्यो। पत्र-पत्रिकाले त्यस्तो असत्य समाचारको खण्डन छापेर तथा सम्बन्धित पक्षसँग क्षमा मागेर आफ्नो शिष्टता र विनम्रताको प्रदर्शन गर्ने गर्दछन्।

५. तर पाथिभरा डटकमले त्यस्तो भ्रामक समाचार छापेर तथा तुरुन्त अन्य सञ्चार माध्यमहरुले त्यसको खण्डन गरिसकेर पनि त्यसले त्यसको खण्डन गरेको देखिएन। अन्य धेरैले त्यसलाई दण्डित गर्नुपर्ने कुरा पनि निकाले। केहीले त त्यसलाई जघन्य अपराध पनि भन्ने गरेका छन्।

६. अनलाइन सम्बन्धमा भरखरै विधिविधान निर्माण हुँदै छन्। यस्तो बेलामा अनलाइनका प्रयोगकर्ताहरु विशेष सजग र सतर्क हुनुपर्दछ। अनलाइनका खबर क्षणभरमा सर्वत्र फैलिने गर्दछ। त्यो समाचार जति द्रूत गतिले फैलिन्छ, उति भ्रामक समाचार पनि फैलिन्छ। जुन स्वभाविकै हो।

७. त्यसकारण अनलाइन डटकमका सञ्चालकहरुले गैर जिम्मेवारी पूर्वक आफूले जे लेखे पनि हुन्छ, जे गरे पनि हुन्छ भन्ने सोच्नु भएन। लेख्नु भन्दा पहिले सत्य र तथ्य पत्ता लगाउनु आवश्यक छ। जति महत्व समाचार हुन्छ, उति धेरै गम्भीर पनि हुनुपर्दछ। ताकि विज्ञानका यत्ति महत्वका आविष्कारको दूरुपयोग नहोस्।