भ्रष्टाचारको चुनौती

१. जनताले बनाएको संविधान कार्यान्वयनको क्रममा देशको विकास निर्माण र समृद्धिको कुरा उठेको छ। स्थानीय तहको चुनावदेखि संघीय संसादको चुनावसम्म आउँदा सम्पूर्ण राजनीतिक पार्टीका घोषणापत्र र भाषणको विषय नै विकास निर्माण र समृद्धि भएको सर्वविदितै छ। मानौँ, विकास, निर्माण र समृद्धि प्राप्त गर्न तिनीहरु प्रतिस्पर्धा गर्दैछन्।

२. यस्तो विकास निर्माण र समृद्धिको सपनामा मख्ख परिरहेका नेपालीहरु गत साता केही झस्केका छन्। साधारण भाषामा विकास, निर्माण र समृद्धिका शत्रुका रुपमा भ्रष्टाचार र घुसखोरीलाई लिने गरिन्छ। तर साता अघि ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा प्रकाशित भ्रष्टाचारको सूचीमा नेपाल १२२ औँ स्थानमा रहेको देखेर उनीहरु झस्केका छन्।

३. ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा प्रकाशित सूचकाङ्कमा समावेश १८० देशमध्ये नेपाल १२२ औँ स्थानमा रहेको प्रष्ट्याईएको छ। गत वर्ष समावेश १७६ मुलुक मध्ये नेपालको स्थान १३१ औँ थियो। स्थानको हिसाबले १३१ बाट १२२ औँ आएको ता देखिन्छ, तर त्यो पर्याप्त होइन। र त्यत्ति प्रगति भयो भनेर विकास निर्माण र समृद्धि हुन्छ भन्ने अवस्था छैन।

४. पहिले पहिले भ्रष्टाचार कर्मचारीहरुबाट हुने गर्दथ्यो। कर्मचारीहरुमा पनि साना कर्मचारीहरु त्यसमा लट्पटिन्थे। तर अहिले ठूला कर्मचारीहरु, राजनीतिक नेताहरु र मन्त्रीहरुले समेत भ्रष्टाचार गर्ने गरेका छन्। कर्मचारीहरुको सरुवा बढुवादेखि नियुक्तिहरुमा ठूलो धनराशिको चलखेल हुने गरेको व्यापक चर्चा छ।

५. भ्रष्टाचारको सञ्जाल तैयार गरिएको छ। कसैलाई ठूलो केश पर्‍यो भने एजेण्टहरु आएर फलाना पदाधिकारीबाट तपाईँको कुरा मिलाइदिन सकिन्छ भन्न आउने गर्दछन्। ती एजेण्ट यत्ति पोख्त हुन्छन् कि तिनीहरुले त्यो केशको इतिहास समेत बनाएर सम्बन्धित व्यक्तिलाई आर्श्चर्य र हैरान पार्दछन् र कुरा मिलेन भने धम्कीसमेत दिन्छन्।

६. देश र देशको प्रशासन यन्त्र यसरी भ्रष्टाचार र घुसखोरीमा चुर्लुम्म डुबेको बेला विकास, निर्माण र समृद्धि कसरी सम्भव होला, यो सबैले गर्ने प्रश्न हो। भन्न ता भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गर्दछन्, तर त्यो कुरा गरेको लगत्तै त्यसैले भ्रष्टाचार गरेको थाहा पाएमा त्यो आर्श्चर्य होइन। वातावरण यसरी नराम्ररी ब्रि्रेको छ।

७. भ्रष्टाचार उन्मूलन गर्नु पर्दछ भन्नेहरु मध्येकाले नै घुस खाएको र घुस खुवाएका छन्। कमिशन खानु साधारण कुरा हो। यस्तो अवस्थामा हामी आएका छौँ। विकास, निर्माण र समृद्धिको कुरा गर्दै आएको प्रधानमन्त्री के.पी. ओलीको नेतृत्वमा नयाँ सरकार आएको छ। नयाँ सरकार समक्ष धेरै चुनौती छन्। ती मध्ये सबभन्दा ठूलो चुनौती भ्रष्टाचार, घुसखोरी र कमिशन हो। सरकारले त्यो कुरालाई कसरी लिन्छ त्यो सबैको चासो र चिन्ताको विषय भएको छ।