भेडीखर्के साइँला रहेनन्

१. ठाडो भाकाका गायक भेडीखर्के साइँलाका नामले ख्यात्रि्राप्त दीर्घराज अधिकारीको आफू बसोबास गरेकै ठाउँ लमजुङ जिल्लाको सुन्दर बजारमा सोमवार निधन भयो। उनी लामो समयदेखि श्वासप्रश्वास लगायतका रोगहरुबाट पीडित थिए। काठमाडौंमा उपचार गराएर केही दिन पहिले मात्र उनी घर फर्केका थिए। उनी ८४ वर्षका थिए।

२. भेडीखर्के साइँला ठाडो भाकाका गायक मात्र होइनन्, ठाडो भाका भनेपछि हुरुक्क हुने र ठाडो भाकालाई दुरा डाँडाको एक कुनाबाट बाहिर प्रचार-प्रसार गर्ने एक स्रष्टा र अभियन्ता पनि हुन्। भेडीखर्के साइँला भन्नासाथ ठाडो भाका स्मरण हुन्छ भने ठाडो भाका भन्नासाथ भेडीखर्के साइँलाको याद आउँछ।

३. दुरा डाँडामा जन्मेका उनले ९ वर्षको उमेरदेखि ठाडो भाका गाउन थालेका थिए। उनले रोधिँमा बसेर गाउन थालेपछि आफ्नो छोरा बिग्रन्छ भनी परिवारजनले उनलाई त्यो गीत नगाउन चेतावनी दिइएको थियो। त्यसबाट पनि नभएपछि दुराहरुको बस्ती दुरा डाँडा छोडेर त्यो परिवार परेवा डाँडामा बसाईँ नै सरेर गएको थियो।

४. तैपनि उनी लुकीछिपी रोधिंमा पुगेर त्यो गीत गाउँथे। उनले गाएको ठाडो भाका अरुको भन्दा राम्रो भएकोले पछि उनका माता पिता पनि खुशी भएका थिए। स्थानीय देउबहादुर दुराले शुरु गरिएको भनिएको ठाडो भाकालाई भेडीखर्के साइँलाले वरपर जिल्लामा पुगेर गाउन थाले पछि त्यसको लोकप्रियता बढेको थियो। उनी धेरै पुरस्कार र सम्मानबाट सम्मानित भएका थिए। हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोष पोखराद्वारा स्थापित राष्ट्रिय पुरस्कारबाट पनि उनी सम्मानित भएका थिए।

५. उनले २०४० सालमा पहिलो पटक रेडियो नेपालमा गाएर रिर्कर्ड गरेका थिए। पछि यसको लोकप्रियता बढ्दै गयो। तर धेरैले यो भाकामा गाउन सकेनन्, यसमा टुक्काहरु जोड्दै गाउनुपर्ने भएकोले यो गाउन गाह्रो हुन्छ। उनले केहीलाई तालिम पनि दिए। तैपनि गाउनेहरुको अभाव खड्कने गरेको छ।

६. उनले भने ठाडो भाका २ दिन २ रात सम्म गाएको कुरा सुनाउँथे। उनले एक विवाह कार्यक्रममा दुलाहाको घरमा गाएर जन्तीका साथ दुलहीको घर पुगेको र त्यहाँबाट फर्केर दुलही भित्र्याएको बेलासम्म गाएर रिर्कर्ड राखेको बताउँथे। उनको अवसान पछि सांस्कृतिक धरोहरको रुपमा रहेको ठाडो भाकाको अवस्था कस्तोहुने हो भन्ने चिन्ता यस क्षेत्रमा व्याप्त छ।

७. भेडीखर्के साइँला राजनीति र सामाजिक काममा पनि उत्तिकै रुची राख्दथे। उनी २०३४ सालमा तत्कालीन गाउँ पञ्चायतको सदस्य पनि भएका थिए। गाउँको सुधारमा सधैं  अग्रसर हुन्थे। ग्रामीण परिवेशमा रमाउँथे। धेरैले उनलाई काठमाडौंमा बस्न आग्रह गरेतापनि उनी गाउँ छाड्न तैयार भएनन्। उनी अत्यन्त मिलनसार, स्पष्टवक्ता थिए। उनको निधनले यस क्षेत्रमा अपूरणीय क्षति भएको छ।