भानुजयन्तीको महत्व

१. आज फेरि एकपटक हामी आदिकवि भानुभक्त आचार्यलाई स्मरण गर्न गइरहेका छौँ। भानुभक्त आचार्य नेपाली साहित्यको क्षेत्रमा कहिले नअस्ताउने तारा हुन्। उनले नेपाली साहित्यमा नयाँ युगको सूत्रपात गरेका थिए। पृथ्वीनारायण शाहले छरिएर रहेका बाइसे चौवीसे राज्यलाई एकीकरण गरेर नेपाल राष्ट्रको स्थापना गरे भने आदिकवि भानुभक्तले त्यसमा नेपाली भाषारुपी प्राण भरेका थिए।

२. पृथ्वीनारायण शाहले गोर्खाबाट आफ्नो एकीकरणको अभियान चलाएका थिए भने भानुभक्तले गोखाकै छिमेकी जिल्ला तनहूँबाट आफ्नो भाषिक आन्दोलन शुरु गरेका थिए। गण्डकी अञ्चल अन्तर्गतका गोर्खा र तनहूँमा जन्मेका ती राष्ट्रिय विभूतिहरुले राष्ट्र निर्माण र राष्ट्रलाई सुदृढ गर्ने कार्यमा जे जति योगदान दिए, त्यसका लागि हामी अञ्चलवासीहरुले सधैँ गर्व गर्ने विषय भएको छ।

३. १८७१ आषाढ २९ गते जन्मेका भानुभक्त आचार्यले अध्यात्म रामायणको नेपाली भाषामा अनुवाद गरी एकातिर धार्मिक भावनाको प्रचार गरे भने अकोर्तिर नेपाली भाषालाई जनजनमा पुर्‍याएर लोकप्रिय पार्ने कार्य गरे। उनले धार्मिक ग्रन्थको अनुवाद गरेका मात्र होइनन्। त्यस बेलाको समाज व्यवस्थाको चित्रण गरी कटु आलोचना पनि गरेका छन्।

४. उनको बधूशिक्षा एक किसिमको ग्रन्थ छ भने प्रश्नोत्तरमाला अकैै किसिमको छ। भक्तमालाले आफ्नै पहिचान बोकेको छ। उनका फुटकर रचनाहरु पनि उत्तिकै लोकप्रिय छन्। उनको लामखुट्टे, उपियाँ, इ संगि छन् इन्कै लहडमा वसी भन्ने व्यङ्ग्य कविता र भोलि भोलि भन्ने कविताले हाम्रो प्रशासन यन्त्रको राम्रो चित्रण गरेका छन्।

५. भानुभक्तले गहन काव्यसाधना गरेका थिए । राम्रो कविताका सर्जक तथा लोक भाषाका मर्मज्ञ हुनाले उनी महान् थिए। उनी महान् भए पनि उनलाई महान् बनाउनेमा दुर्इ जना पात्रको नाम खूब आउने गर्दछ। ती पात्र हुन् एक घाँसी र अको मोतिराम भट्ट। घाँसीले उनलाई सामाजिक काम गरेर नाम कमाउन प्रेरित गरे भने मोतीराम भट्टले उनका कृतिहरु छापेर प्रचार प्रसार गरे। उनीहरुको योगदान अविस्मरणीय मानिन्छ।

६. नेपाली भाषा पश्चिम नेपालको खश साम्राज्यमा बोलिने खश भाषाको विकसित रुप हो। खश साम्राज्यको धेरै विशेषता थियो। खश साम्राज्यका व्रात्य क्षत्रीहरुको आफ्नै संस्कृति थियो र धर्मको नाममा उनीहरु आफ्नै देशको बुद्ध धर्म मान्दथे। आज पनि त्यो क्षेत्र अरुमा पिछडिए पनि धर्म, संस्कार र संस्कृतिमा समृद्ध छ।

७. पश्चिमबाट आएको खश भाषालाई नेपाली भाषा बनाउनु  र त्यसलाई लोकप्रिय पार्नुमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको छ। उनको त्यही योगदानको कदर गरेर उनलाई आदिकवि भनिएको हो। आदिकविको सम्मान हिजो भन्दा आज बढेको छ र नेपालमा भन्दा विदेशमा विशेषतः दार्जिलि·मा विशेष रुपले मान्ने गरिएको छ। यसर्थ आजको दिनको महत्व बढ्दै गएको छ र भविष्यमा पनि यसको समृद्धिमा विस्तृति थपिनेछ।