भरत शंशेर पनि रहेनन्

१. पुराना राजनीतिज्ञ भरतशंशेरको ९० वर्षको उमेरमा भारतको कोलकातास्थित आफ्नै निवासमा शनिवार निधन भयो। उनी ९० वर्षका थिए। केही वर्षदेखि उनी क्यान्सर रोगबाट पीडित थिए। तैपनि उनले सक्रिय जीवनयापन गरिरहेका थिए। निधन हुनु एक दिन अघिसम्म पनि उनी आफ्नो व्यवसायमा तल्लीन थिए।

२. भरत शंशेर भन्नासाथ मानिसहरुले गोर्खा परिषद् सम्झन्छन्। उनले २०१५ सालको आमनिर्वाचनमा गोर्खापरिषद्बाट चुनाव लडेका थिए। धादिङ १०७ नं. क्षेत्रबाट चुनाव लडेर उनले जितेका थिए। १०९ जनाको संसदमा उनको पार्टीले १९ सीट जितेर प्रतिनिधि सभामा दोस्रो स्थान सुरक्षित गरेका थिए। काँग्रेस पछिको सबभन्दा ठूलो पार्टीभएकोले उनी विरोधी पार्टीको नेता भएका थिए।

३. २०१७ सालमा राजाले कू गरेपछि उनी पनि जेल परेका थिए। तर केही महिनामा नै उनी जेलबाट निस्कन सफलभए र भारतमा गएर बसे। भारतमा रहँदा उनी  आफ्नो दलबल सहित नेपाली काँग्रेसमा प्रवेश गरे। काँग्रेसमा प्रवेश गरेपछि उनको क्रान्तिकारी विचारको प्रस्फुरण भयो। उनी राजनीतिमा राजतन्त्र विरोधीको रुपमा देखा परे भने धर्म र संस्कृतिमा नास्तिक।

४. उनी बहु प्रतिभाशाली थिए। भारत प्रवासमा उनी फिल्म क्षेत्रमा लागे। उनी फिल्मका निर्माता निर्देशक पनि भए भने कतिपय फिल्मको स्क्रिप्ट आफै लेख्थे। उनको फिल्म सीमाबद्धले नाम र दाम दुवै कमाएको थियो। उनले धेरै चलचित्र निर्माण गरेका थिए।

५. २०३६ सालमा जनमत घोषणा भएपछि उनी बहुदलको प्रचार गर्न नेपाल  आएका थिए। २०४८ सालमा उनी एक पटक फेरि राजनीतिमा सक्रियभए।तर उनले चुनाव लड्न मानेनन्। पछि विस्तारै उनी कोलकातामा गएर आफ्नै व्यवसायमा संलग्नभए।उनको परिवार र व्यवसाय उतै भएकोले उनलाई त्यहाँ जान गाह्रो भएन।

६. उनी राणापरिवारमा जन्मेका, गोर्खा दलबाट राजनीतिमा देखा परेका र गोर्खा परिषद् पार्टीका महामन्त्री भएकाले उनलाई धेरैले शोषक, सामन्ती र पुरातनपंथीका रुपमा चिन्ने गर्दछन्। तर वास्तवमा उनी त्यस्ता थिएनन्। उनी  आधुनिक एवम् प्रगतिशील विचारका थिए। दलित जनजाति आदिवासीको उत्थान गर्न चाहन्थे। काँग्रेस सरकारमा छँदा उनले त्यस्तै सुझाव दिएका थिए र त्यसको संयोजक आफै हुन चाहेका थिए।

७. उनले आफू मरेपछि आफ्नो शरीर अस्पताललाई दान दिन र आफ्नो काजक्रिया समेत नगर्न भनेका छन्। त्यस्तो व्यक्तिलाई परम्परावादी र कर्मकाण्डवादी भन्नु उनीमाथि अन्याय गर्नु हो उनी नयाँ सोंचका थिए र हरेक नयाँ कुरालाई आत्मसात गर्ने गर्दथे।