बुद्ध लामालाई बधाई

१. पोखराका युवाहरुले साहित्य, संगीत, कला, खेलकूद र विज्ञान तथा प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरेर पोखराको नाम उच्च पारेका छन्। तीमध्ये एक हुन्- बुद्ध लामा । बुद्ध लामाले भरखरै कतारमा सम्पन्न नेपाल आइडलको उपाधि जितेर सांगीतिक फाँटमा एक सेलीब्रेटी बनेका छन्। उनले अन्तिम चरणमा मोरङका निशान भट्टराई र ललितपुरका प्रताप दासलाई पछि पार्दै नेपाल आइडलको उपाधि जितेका हुन्।

२. एपी वान टेलिभिजनबाट आयोजित नेपाल आइडलको उत्कृष्ट तीनमध्ये विजेता छनौटका लागि नौ करोड ३१ लाख ८३ हजार तीन सय ३५ भोट प्राप्त भएकोमा बुद्ध लामाले चार करोड ४८ लाख ४५ हजार दुर्इ सय दुर्इ भोट प्राप्त गर्दै उपाधि जितेका हुन्। उनलाई कतारमा आयोजित ग्राण्ड फिनालेमा ख्याति प्राप्त हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पुरस्कार प्रदान गरेका थिए।

३. बुद्ध लामाले पुरस्कार स्वरुप २० लाख रुपैयाँ नगद प्राप्त गरे भने महिन्द्रा केयुभी १०० को एक कार पनि प्राप्त गरेका छन्। त्यसका साथै उनले १५ लाख रुपैयाँको एल्बम कन्ट्राक पनि पाएका छन्। अन्य संघसंस्था र व्यक्तिहरुले पनि उनलाई पुरस्कार र बधाई तथा शुभकामना दिने क्रम जारी छ।

४. नेपाल आइडलमा सहभागी भएका हजारौं सहभागीहरुलाई पछि पार्दै अघि बढेका बुद्ध लामाले पोखराको त्रिवेणी संगीतालय र गुरुकुल संगीतालयमा संगीत प्रशिक्षण लिएका थिए। उनले संगीत सिक्दै प्रतियोगिताहरुमा भाग लिने गर्दथे। पोखराको बिग एफ एमद्वारा आयोजित विग आइकनमा पनि उनी चौथा भएका थिए।

५. २०५४ सालमा धादिङमा जन्मेका उनी आमाबाबुका साथ पोखरा आएका थिए। उनी बालककालदेखि नै संगीतमा रुचि राख्थे। पर्ढाईमा भन्दा संगीतमा बढी ध्यान दिएकाले एकताका  आमा बाबु हैरान पनि भएका थिए। तर पछि उनको प्रतिभा प्रस्फुरणको क्षेत्र नै संगीत भएको थाहा पाए पछि उनलाई संगीतालयमा भर्ना गरिएको थियो।

६. नेपालको सांगीतिक फाँटमा भएको गतिविधिलाई हेर्ने हो भने यो नेपाल आइडलको प्रतियोगिता सर्वाधिक ठूलो र महत्वपूर्ण प्रतियोगिता हो । फेरि यसको ग्राण्ड फिनाले विदेशमा लगेर गर्नु अको विशेषता हो। यस्तो विशेष आयोजनामा नेपालको राष्ट्रियता झल्काउने राष्ट्रिय पोशाक या अरु कुनै सहभागी, जजहरु वा विशिष्ट अतिथिहरु कसैले प्रयोग एवम् प्रदर्शन गरेको भए, यसको महत्व अरु बढ्ने थियो।

७. नेपाल आइडल आफैमा महत्वपूर्ण कार्यक्रम हो। यसले गायन क्षेत्रमा रुचि राख्नेहरुलाई सम्भावनाको ढोका खोलेको छ। यसका सहभागीहरु केहीले गायन क्षेत्रमा कीर्र्ति राख्ने अपेक्षा पनि गरिएको छ। यस्तो आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै प्रथम भएका पोखराका बुद्ध लामालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ र उनको उत्तरोत्तर उन्नति र प्रगतिको लागि शुभकामना व्यक्त गर्दछौँ।