बुद्ध नेपालमा जन्मेका हुन्

१. हङकङको पाठ्य पुस्तकमा भगवान बुद्धको जन्मस्थल सम्बन्धी गलत कुरा सच्याएर बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भनी लेखिएको समाचार आएको छ। यसअघिको पुस्तकमा बुद्ध प्राचीन भारतमा जन्मेको उल्लेख थियो। केही नेपालीहरुको प्रयासमा त्यहाँको सरकारले त्यसरी सच्याएको समाचारमा जनाइएको छ।

२. यसअघि दक्षिण कोरिया सरकारले पनि आफ्नो पाठ्यपुस्तक सच्याएर भगवान बुद्ध नेपालमा जन्मेको उल्लेख गरेको थियो। अझै धेरै देशहरुमा त्यो भ्रम व्याप्त छ। केही देशले वास्तविक कुरा बुझेर आफैले सच्याएका छन् भने केही नेपालीहरुको प्रयासले सच्याएको पाइन्छ। यस्तो कुरामा हाम्रो सरकार आफैँ अग्रसर भएर प्रयास गरेमा छिटो हुने देखिन्छ।

३. बुद्धको जन्मस्थल सम्बन्धमा त्यस्तो भ्रम नहुनुपर्ने हो। उनी राजकुमारको रुपमा लुम्बिनीमा जन्मेपछि त्यस वरपरकाहरु लुम्बिनी भएर आउँदा जाँदा त्यही रुखमुनि सिर्द्धार्थ जन्मेका हुन् भनी औंल्याउने गर्दथे। राजाको छोरा युवराज जन्मेको ठाउँ सबैलाई चासो र खाँचो हुनु स्वभाविक हो। सबैले उत्साहसाथ त्यस ठाउँको चर्चा गर्ने गर्दथे।

४. जब सिर्द्धार्थ महाभिनिष्क्रमण गरेर घरपरिवार र देश त्यागेर गए, तब त्यो ठाउँको चर्चा अरु बढ्यो। मानिसहरुले जंगलमा जन्मेका जंगलतिरै गए भन्ने गर्दथे। ६ वर्षपछि उनले बुद्धत्व प्राप्त गरेपछि त्यो ठाउँको महत्व अरु बढ्यो। मानिसहरुले बुद्ध जन्मेको स्थानका रुपमा त्यहाँ पूजा गर्न थाले। ढुङ्गाको चैत्य जस्तो बनाएर सबैले देख्ने गरी राखे।

५. एकपछि अको घटनाले त्यस ठाउँको महत्व बढ्दै गएको थियो। त्यसमा पनि बुद्ध आँफैले आफ्नो चार महत्वपूर्ण संवेजनीय स्थलको नाम लिएर लुम्बिनीको नाम सबभन्दा पहिले भनेपछि त्यो तीर्थस्थलको रुपमा विकसित भयो। पछि भारतका चक्रवर्ती सम्राट अशोक आफ्ना गुरु भिक्षु उपगुप्त महास्थविरका साथ आएर त्यस ठाउँको दर्शन गरी यहँा लुम्बिनीमा भगवान बुद्ध जन्मेका हुन् भनी स्तम्भ गाडेपछि त्यो अकाट्य प्रमाण भयो।

६. त्यसबेला लुम्बिनी कपिलवस्तु राज्यकै एक भाग थियो जब नेपाल र भारतको औपचारिक रुपले सीमारेखा कोरियो त्यसबेलादेखि लुम्बिनी र कपिलवस्तु दुवै नेपालभित्र परेका छन् र नेपालको अभिन्न अंग भएर रहेका छन्। ठूल्ठूला बौद्ध तीर्थयात्रीहरु- फाहियान, हुयन साङ, इत्सि·हरु यहाँ आएका थिए। कर्णाली प्रदेशका राजा रिपु मल्ल पनि लुम्बिनीको दर्शन  गर्न आएका थिए। राष्ट्रसंघले बुद्धको जन्मस्थल भनेर लुम्बिनीको विकासमा सघाएको छ भने युनेस्कोले पनि बुद्धको जन्मस्थल भनेरै लुम्बिनीलाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ।

७. यस्तो महत्व बोकेको र सबैले नेपालको लुम्बिनी भनी ती सबै काम कुराहरु गरिरहेका बेला लुम्बिनी भारतको भनी प्रचार गर्नु सरासर गलत हो, दुःखको कुरा हो। हिजो जे भए पनि आज लुम्बिनीले विश्वव्यापी प्रचार पाएको छ। लुम्बिनी नेपाल भित्र पर्दछ भन्ने सर्वविदित छ। विभिन्न विश्वस्तरको बौद्ध सम्मेलन आदिले पनि त्यो प्रष्टयाएको छ। नेपालको सर्वाधिक महत्वपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीबारे भ्रम हुनु दुःखको कुरा हो। हामीले सबै साधन स्रोत र उपाय जुटाएर भगवान बुद्ध नेपालमा जन्मेका हुन् भनी व्यापक प्रचार-प्रसार गर्नु पर्दछ। कि कतै कसैले भ्रम खडा गरे त्यसको तुरुन्त विरोध गर्ने र खण्डन गर्ने गर्नु पर्दछ। जसले लुम्बिनी नेपालको हो भनेर प्रचार प्रसार गर्दछन् उनीहरु धन्यवादका पात्र छन्।